विराटनगर । राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेश अन्तर्गत आइतबार सम्पन्न मतदानमा एक प्रदेश सभा सदस्यको नामबाट फर्जी मत खसेको आशंका बढेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङले आफू काठमाडौँमा रहेको जानकारी दिँदै राष्ट्रिय सभा निर्वाचन अन्तर्गत भएको मतदानमा सहभागी नरहेको बताएका छन् ।
यद्यपि, राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले मतदानमा अनुपस्थित रहेको मतदाताको सूची सार्वजनिक गर्दा थामसुहाङको नाम उल्लेख गरेको छैन ।
सो कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले सार्वजनिक गरेको सूची अनुसार कोशी प्रदेश अन्तर्गत मतदान नगर्ने प्रदेश सभा सदस्यहरूमा कांग्रेसकी लीलाकुमारी राई र एमालेकी यशोदा कायस्थ, राप्रपाका सविना बजगाई, निमसरी राजवंशी, गोपालबहादुर विश्वकर्मा छन् । राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्टले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रेमराज थामसुहाङको नाम मतदान गर्नेहरूकै सूचीमा समावेश छ । ‘म काठमाडौँमा छु । मैले मतदान गरेको छैन,’ थामसुहाङले भने ।








































