काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५ औँ महाधिवेशन अन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने बताएका छन्। कुनै वार्ताबाट कुनै चमत्कारिक निकास नआए भोलिबाट सुरु हुने अधिवेशन प्रक्रिया नरोकिने उनको भनाइ छ।
उनले भने, ‘भोलिबाट वडा अधिवेशन थाल्न हामीले सबै तयारी गरिसकेका छौँ। चमत्कारिक रूपमा केही कुरा आयो भने, मुद्दा नै फिर्ताको कुरा आयो वार्ताको लागि कुनै गुन्जायस रहन्छ।’
हिजो तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइरालाले बेग्लाबेग्लै अपिल जारी गर्दै वार्ता थाल्न आग्रह गरेकोबारे उनले भने, ‘अन्त्यहीन वार्ता कहिलेसम्म गर्ने?’
हिजो बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताबारे सबै मिलाउने जिम्मेवारी सभापति गगन थापालाई दिएको बताए।
उनले भने, ‘हामीले सभापतिजीलाई सबै अधिकार दिएका छौँ। तपाईँले परिस्थितिको विवेचना गरेर गर्ने अधिकार सबै प्रयोग गर्नुहोस् भनेका छौँ। सभापतिको प्रयासको प्रतिफल पनि हामीलाई प्राप्त भएको छ। धेरै साथीहरू अहिले समायोजित हुनु भएको छ।’
उनले सभापतिले मूल्याङ्कन गरेर परिस्थिति अनुसार आवश्यक निर्णय गर्नसक्ने बताए।
उनले थपे, ‘सभापतिज्यूले जे आवश्यक ठान्नुहुन्छ त्यही निर्णय गर्नुहुन्छ। अहिलेसम्म वडा अधिवेशनको प्रक्रिया अहिले रोकिँदैन। हामी अगाडि बढाउँछौँ। तर, सभापतिले मूल्याङ्कन गरेर कदम चाल्नुहुन्छ।’
उनले वार्तामा आउन चाहने नेताहरूसँग सभापति तहबाटै आवश्यक छलफल भइरहेको बताए।







































