काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा फुट आएको छ। महासचिव केशव झासहित ९ केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा महासचिव झासहित केन्द्रीय सदस्य चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।
पछिल्ला राजनीतिक घटनाक्रमहरूले पुराना शैली र पुराना व्यक्तिहरूबाट अब देशको राजनीति अगाडि बढ्ने स्थिति नरहेको उनीहरूको निष्कर्ष छ।
उनीहरूको निष्कर्ष छ, ‘यस्तो स्थितिमा हाम्रो मातृभूमिलाई सुहाउने वैचारिकीको आधारमा बलियो अर्थतन्त्रको निर्माण गर्न सहयोग मिल्ने अर्थ राजनीतिको सहारा लिई अगाडि बढ्नु पर्दछ। यसको निम्ति सामाजिक सांस्कृतिक चेतना विकासको निम्ति अभियानमा निरन्तरता, राजनीतिक चेतनाको निम्ति सङ्घर्षमा जोड दिँदै आर्थिक चेतनाको निम्ति विद्रोहको तयारी गर्दैछौं।’
अहिलेसम्म प्राप्त गरिएको उपलब्धिको लागि योगदान गर्ने सबैलाई धन्यवाद दिँदै विचारसहितको विकल्प र विकल्प सहितको विद्रोहको निम्ति अबको यात्रा ‘हुङ्कार मधेश अभियान’सँग हुने जानकारी गराएका छन्।








































