वि.सं.२०८२ फागुन २३ शनिवार

कांग्रेस नेताहरू बीच मिलेन कुरा, फुट टार्न मुस्किल

khanepani

काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन भन्दै भएको छलफल विना निष्कर्ष टुंगिएको छ । मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले निष्कर्ष निकाल्न नसकेको हो ।

‘आज रातिको छलफल टुंगोमा पुग्न सकेन । छलफल जारी राख्ने र भोलि बिहानै छलफल सुरु गर्ने भन्ने कुरा भयो’ छलफलमा सहभागी एक नेताले भने, ‘सभापतिको बहिर्गमनको विषयमा कुरा मिलिरहेको छैन ।’

कार्यवाहक दिएर सभापति शेरबहादुर देउवा उपचारका लागि विदेश जाँदा सबै जिम्मेवारी सुम्पिएर गएको भए पनि फर्किएपछि पुनः सक्रिए भएको विषयमा विशेष महाधिवेशन पक्षधरले आपत्ति जनाएको थियो ।

‘सभापतिले जेनजी आन्दोलनपछि उपचारका लागि विदेश जाँदा कार्यवाहक दिनुभयो। उहाँको प्रशंसा हामीले पनि गर्यौँ । बाहिर पनि भयो’ छलफलमा सहभागी अर्का नेताले भने, ‘अब भोलि बिहानसम्म टुंगिने आशा गरौँ ।’

विशेष पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई धेरै दिन काठमाडौँ राख्न नसकिने भन्दै भोलि बिहानसम्मको डेडलाइन दिएको बताइएको छ ।

त्रिपक्षीय भनिएको नेताहरुको छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाँण र रमेश लेखक सहभागी थिए । विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य थिए । त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए ।

विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएको छ ।