एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तानका लागि प्रस्थान गर्ने बताइएको छ।
अमेरिकी समाचार वेबसाइट एक्सियोसले तीन अमेरिकी स्रोतहरूलाई उद्धृत गर्दै जेडी भान्स मंगलबार अमेरिकी समय अनुसार बिहान हुने बेलासम्म प्रस्थान गर्ने उल्लेख गरेको छ।
सीएनएनका स्रोतहरूले बताए अनुसार, अमेरिका र इरानका प्रतिनिधिहरूबीचको वार्ताको दोस्रो चरण बुधबार इस्लामाबादमा हुने तय भएको छ।
तर, इरानले यस वार्तामा सहभागी हुनेबारे अझै स्पष्ट धारणा सार्वजनिक गरेको छैन।
केही समय अघि ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश एक्स (ट्विटर)मा साझा गरेको थियो।
सन्देशमा भनिएको छ, “यदि ट्रम्प प्रशासनको अवधिमा कुनै सम्झौता हुन्छ भने, यसले केवल इजरायल वा मध्यपूर्वमा मात्र होइन, युरोप, अमेरिका र विश्वभरि नै शान्ति, सुरक्षा र सुरक्षित वातावरणको सुनिश्चितता गर्नेछ।”









































