वि.सं.२०८३ वैशाख ८ मंगलवार

नयाँ लाइसेन्समा चिपको सट्टा क्यूआर किन ? यस्तो छ सञ्चार मन्त्रालयको प्रष्टीकरण

khanepani

काठमाडौं । स्मार्ट सवारी लाइसेन्समा चिपको सट्टा क्यूआर कोड प्रयोग भएको विषयमा टिप्पणी भइरहेको बेला सरकारले प्रष्टीकरण दिएको छ ।

विगतमा यातायात व्यवस्था विभाग आफैँले मास प्रिन्टरमार्फत चिप जडित लाइसेन्स छाप्दै आएको थियो । तर, आन्दोलनका क्रममा उक्त मेसिनमा क्षति पुगी मर्मत हुन नसक्ने अवस्था आएपछि विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रसँग क्यूआर कोडसहितको लाइसेन्स छपाइ गर्ने सम्झौता गरेको थियो ।

सञ्चार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ कार्ड अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित र हालसम्मकै सुरक्षित रहेको दाबी गरेको छ । विगतका कार्डहरूमा चिप भए पनि त्यसलाई पढ्ने आवश्यक पूर्वाधार र कार्ड रिडर मेसिनको अभावले व्यावहारिक कठिनाइ देखिएकाले अहिले त्यसको विकल्पमा उच्च सुरक्षासहितको इन्टेलिजेन्ट क्यूआर प्रविधि अपनाइएको मन्त्रालयको भनाइ छ ।

यो प्रविधिको मुख्य विशेषता भनेको अफलाइन प्रमाणीकरण हो । यसबाट ट्राफिक प्रहरी वा नियामक निकायले इन्टरनेट नभएको स्थानमा समेत सहजै कार्ड स्क्यान गरी चालकको आधिकारिकता तत्कालै पुष्टि गर्न सक्नेछन् ।

नयाँ लाइसेन्समा जालसाजीमुक्त बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । यसमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंकदेखि विशेष उपकरणबाट मात्र देखिने अदृश्य युभी इंक र इन्फ्रारेड प्रणालीहरू समावेश छन् । अझ विशिष्ट सुरक्षाका लागि प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने डिजिटल सिग्नेचर र प्रोप्राइटरी इलेक्ट्रो–इंक जस्ता फरेन्सिक फिचरसहित कुल ३९ वटा सुरक्षा विशेषताहरू जडान गरिएको छ । प्रत्येक कार्ड एक-अर्कासँग पूर्णतः भिन्न हुने गरी निर्माण गरिएकाले यसको नक्कल गर्न असम्भव रहेको मन्त्रालयको दाबी छ ।

केन्द्रसँग लाइसेन्स छपाइ गर्ने सम्झौता केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नै भएको थियो ।

ranechhap