वि.सं.२०८२ फागुन २४ आइतवार

सिन्धुली–२ मा चुनाव राेचक हुँदै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राम कार्की

khanepani

सिन्धुली । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा राजनीतिक दलहरूले उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएका छन् । सोही क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्ना वरिष्ठ नेता राम कार्कीलाई उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

बौद्धिक क्षमता र वाकपटुताका लागि परिचित कार्की जिल्लामा खोजिने र प्रभावशाली नेताका रूपमा लिइन्छ ।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वैचारिक निष्ठा र सादा जीवनशैलीका कारण छुट्टै पहिचान बनाएका महेश्वर दाहाल पनि सिफारिस सूचीमा परेका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता हरिबोल गजुरेलसँगै सिफारिसमा परेका दाहालले अहिलेसम्म कुनै अवसर नपाएको पृष्ठभूमिमा पार्टीबाट उनको उम्मेदवारी बलियो देखिएको छ ।

प्रचण्डले पूर्वी रुकुमबाट उम्मेदवारी रोजिसकेका छन् भने हरिबोल गजुरेलले एकपटक सांसद भइसकेकाले यसपटक नउठ्ने प्रस्ताव सार्वजनिक रूपमा गरेका छन् । गजुरेल यसअघि दुई पटक सांसद तथा एकपटक मन्त्री भइसकेका छन् । यसैले सिन्धुली–२ मा महेश्वर दाहाललाई अघि सार्ने सम्भावना बलियो बनेको पार्टीको आन्तरिक विश्लेषण छ ।

उता, नेकपा (एमाले) ले माओवादी पृष्ठभूमिका नेता मनोजजंग थापालाई सिन्धुली–२ बाट सिफारिस गरेको छ । जनयुद्धकालमा पार्टीको अन्तर्राष्ट्रिय विभागमा काम गरेका थापा यसअघि एमालेबाट निर्वाचन लडेर पराजित भएका थिए ।

सिन्धुली–२ मा दलहरूको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अन्तिम उम्मेदवार टुंगो लागेसँगै चुनावी माहोल थप रोचक हुने देखिएको छ ।