काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् ।
कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार आयोजना ललितपुरमा चिनियाँ निर्माण कम्पनी चोङचिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेसन पनि कालोसूचीमा परेको छ । यस कम्पनी र कान्छारामको कम्पनीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, खानेपानी संस्थान पोखरामा काम गरिरहेको ड्रैगन कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । धनुषाका बैजनाथ यादव सञ्चालक रहेको यस कम्पनीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
उदयपुरको रौतामाइ गाउँपालिकाको ठेक्कामा जेभी भएर काम गरिरहेको धनुषाको सिंङडन सप्लायर्स एण्ड कन्स्ट्रक्सन र सिन्धुपाल्चोकको विशाल निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेका यी कम्पनीहरूले यस अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टामा भाग लिन पाउने छैनन् ।










































