काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा फेरि अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारकर्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि अहिले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको उल्लेख गर्दै महाशाखाले पछिल्लो अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुपर्ने देखिएको जनाएको छ ।
त्यस्तै महाशाखाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहेको र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको जनाएको छ ।
चीन सरकारबाट प्राप्त सूचना तथा भूउपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको देखिएको छ । उक्त ताल फुट्ने जोखिमसमेत रहेको महाशाखाले जनाएको छ ।
ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुंगा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ ।
त्यसैले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा, यात्रु तथा उद्धारकर्तालाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि माथिल्लो क्षेत्रमा बनेको ताल फुट्न सक्ने सम्भावनाका कारण तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।







































