रसुवा । २०८२ असार २४ मा चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) को बाढीले सबै भन्दा बढी क्षति भएको रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिबारे बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका छन्।
शाक्य त्यहाँ पुग्दा अझै पनि पुनर्निर्माणको काम भइरहेको थियो भने बाढीले क्षति गरेका संरचनाहरु पुर्णरुपमा उठ्न नसकेको थिएनन् । आयोजनाको बाँधस्थल वरपर अझै पनि ठूलाठुला ढुंगा र मुढाहरु छन् भने पावरहाउसबाट झिकेका मुढाहरु काटेर झिकेकाले अझै धुलो कायमै थियो । यस्तै, बाढीसँगसँगै पसेको लेदोका कारण पावरहाउसका धेरै संरचनाहरु मर्मत गरेर चलाउनका लागि यत्रतत्र छरिएका छरिएका छन् ।
शाक्यले १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षका बारेमा पनि जानकारी लिएका छन् । उनले निरीक्षणसँगै कठिन समयमा पनि मेहनतका साथ काम गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी प्रविधिको प्रयोग गर्दै काम गर्न निर्देशन दिएका छन् ।
‘मानसिक त्रासमा बसेर लगातर काम गरेर यो सफलता प्राप्त गर्नुभयो अहिले दुई ओटा युनिट सञ्चालनमा ल्याउनुभयो यो प्रशंसनीय काम हो,’ उनले भने, ‘यो सुख्खा मौसममा पनि यी दुई युनिटबाट करीब ४५ मेगावाट विद्युत उत्पादन भैरहेको छ । यो गतिशिलतालाई कायम राख्नुहोस् । अहिलेसम्मको प्रगति राम्रो छ । तर, प्राकृतिक विपत्ति आइलाग्यो । यद्यपि अरु अवस्थामा तपाईंहरुको मेहनतले थप सुधार गरेर अघि बढ्दा यस्ले थप राम्रो गर्छ भन्ने मलाई लागेको छ ।’
उनले पहिला गरेको डिजाइन भन्दा अहिले बस्तुस्थिति फरक भएको र नदीले आफ्नो धार समेत परिवर्तन गरेको भन्दै त्यसै अनुसार डिजाइनमा परिवर्तन गरेर जानुपर्ने बताए। उक्त कामका लागि प्राधिकरण सहयाेग गर्न तयार रहेकाे समेत उनले बताए ।
‘पुरानै डिजाइनले पुरानो समस्यालाई समाधान गर्दैन । अब फरक ढंगले अघि बढ्नुपर्छ मैले त्यहि अनुसारको सुझाव पनि दिएको छु । यो एक वर्षको बाढीलाई हेरेर त्यसपछि स्थायी समाधानसहित अघि बढन्पर्छ । प्रगति राम्रो छ । तर, अर्को बाढी आउनु भन्दा अघि गर्नुपर्ने काम अझै धेरै छ । त्यो काम द्रुत गतिमा गर्नुपर्ने छ,’ उनले भने, ‘बाँध निर्माणस्थलको काम पनि अझै द्रुतगतिका साथ गर्नुपर्ने छ ।’ उनले भने ।
उनले पावर हाउसको पनि निरीक्षण गरे । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा निर्माण भएको रन–अफ–रिभरको यो आयोजनाले वार्षिक ३ अर्व २५ करोड आन्दामी गर्ने लक्ष्य लिएको भन्दै बाढीले क्षतिग्रस्त अवस्थापछि कठिनका साथ काम गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले असार २४ को बाढी अघि १ सय १४ करोड आम्दानी गर्न सफल भएको जानकारी दिए ।
‘प्राधिकरणका कार्यकारी निर्देशकज्यु यहाँ आएर अहिलेसम्म गरेको कामको प्रगति हेर्नू भएको छ र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव र निर्देशन दिनुभएको छ,’ उनले भने, ‘हामी त्यहि अनुसार अघि बढ्छौँ । हामीले एक अर्व ७३ करोडको विमा दावी गरेका छौं । हामी भर्खरै विस्तारै लयमा फर्किएका छौं । अब थप तयारीका साथ अघि बढ्छौं ।’
उक्त आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विधुत उत्पादनको लक्ष राखेको छ केन्द्रकम प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।
रसुवामा आएको बाढीले ३ सय ५० मेगावाटका आयोजना निर्माणको काममा अवरोध गरेको थियो । त्यसैगरी २ सय ५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएका थिए । सो बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो। त्यतिबेला ६० मेगावाट त्रिशूली–३ ए जलविद्युत् आयोजना, २४ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ, १४ मेगावाट देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएका थिए ।









































