वि.सं.२०८२ कात्तिक २२ शनिवार

पूर्णबहादुर खड्काको विशेष महाधिवेशन पक्षधरलाई विधान अनुसार नै गर्ने आश्वासन

khanepani

काठमाडौं । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूलाई कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान अनुुसार नै निर्णय हुने आश्वासन दिएका छन् ।

शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल गरेका कावा सभापति खड्काले किसुनजीको समेत उदाहरण दिँदै आफू विधान अनुसार अघि बढ्ने बताएका हुन् ।

छलफलमा हस्ताक्षर अभियान चलाइरहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, रमेश धमला, नारायण भट्टराई, जनकराज गिरी, सुवास पोखरेल, मनोजमणी आचार्य सहभागी थिए ।

त्यस्तै, मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि छलफलमा सहभागी थिए ।

नेताहरूले कावा सभापति खड्कालाई नै औपचारिक रुपमा हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाएपछि खड्काले आज पहिलोपटक बोलाएर छलफल गरेका हुन् ।
‘पहिलोपटक २४८८ जनाको तर्फबाट बोलाउनुभयो । पार्टी कार्यालयमै सौहार्दपूर्ण वातावरणमा छलफल भयो । हामीले बोलाएकोमा हामीले धन्यवाद दियौं,’ नेता मनोजमणी आचार्यले भने ।

उनका अनुसार, खड्काले पार्टीको विधानको व्यवस्थामा रहेर आफूले काम गर्ने बताएका छन् ।

‘पार्टीको विधानको व्यवस्थामा रहेर म काम गर्छु भन्नुभयो । म किसुनजीको अनुयायी पनि हुँ भन्दै लामो इतिहास सुनाएर यस्तो बताउनुभएको छ,’ खड्काले दिएको आश्वासन सुनाउँदै आचार्यले भने ।