वि.सं.२०८३ वैशाख ९ बुधवार

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक एकता सुदृढ गरेर देशलाई सफल नेतृत्व दिन नयाँ पुस्ता तयार रहेको बताएका छन्। गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महरले सकारात्मक परिवर्तनको नेतृत्व लिन युवा पुस्ता सक्षम भइसकेको बताएका हुन्।

देशको वर्तमान अवस्था उकास्न फागुन २१ मा तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए। पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने उनको धारणा छ।

नेतृत्वमा पुस्तान्तरणका लागि महरले ‘कुलिङ अफ पिरियड’ (विश्राम अवधि) को अवधारणा ल्याउनुपर्ने प्रस्ताव गरे। ‘तीन पटक सांसद, दुई पटक मन्त्री र निरन्तर तीन पटकसम्म एउटै पदमा केन्द्रीय समितिमा रहेका, पूर्व र वर्तमान पदाधिकारी, सार्वजनिक जीवनमा प्रश्न उठेकाहरू तथा ७० वर्ष उमेर पुगेका नेताहरूका लागि ‘कुलिङ पिरियड’ लागू गर्नेबारे केन्द्रीय समितिमा गम्भीर छलफल हुनुपर्छ,’ उनले भने।

यो व्यवस्थाले नेतृत्वमा नयाँ ऊर्जा प्रवाह हुने र पार्टी गतिशील बन्ने उनको विश्वास छ। देश र पार्टीको निकासका लागि संविधान र कांग्रेसको विधानलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने उनले बताए।

ranechhap