काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर आफूहरु संसदमा अनुपस्थित रहेको प्रष्टीकरण दिएका छन् ।
नेपालले सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् ।
नेपालले आफूहरुको यो निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो भन्दै ओलीलाई विगतका गल्ति सच्याउन तथा पार्टी एकताका लागि आफूहरुले अघि सारेका कुराको सम्बोधन गर्न आग्रह गरेका छन् ।
नेपालले लुम्बिनी र गण्डकीमा एमालेका मुख्यमन्त्रीले लोकतन्त्र र संविधान विपरित कार्य गरेको आरोप समेत लगाएका छन् ।