वि.सं.२०८३ वैशाख १८ शुक्रवार

बल्खु सुकुमवासी घटनाबारे प्रहरी : नदीमा बग्दै गरेको अवस्थामा शव भेटियो

khanepani

काठमाडौं । आज खाली गरिएको बल्खुस्थित सुकुमवासी बस्ती नजिकैको बागमती नदीमा फेला परेको शव नदीमा बग्दै गरेको अवस्थामा भटिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रेस नोट अनुसार दिउँसो साढे ३ बजे बागमती नदीमा बग्दै गरेको अवस्थामा एक पुरुषको शव भेटिएको हो ।

नदीमा मृत भेटिएका व्यक्ति खोटाङको सरल गाउँपालिका–५ घर भइ बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएका ६१ वर्षीय ईन्द्रबहादुर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

घटनास्थल मुचुल्का तथा लास जाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । मृत्युको कारण भने अहिलेसम्म नखुलेको र अनुसन्धानको काम भइरहेको प्रहरीले बताएको छ ।

परिवारका अनुसार उनी शुक्रबार बिहान मात्रै घर भत्काको हेर्न सक्दिैन भन्दै निस्किएका थिए । बिहान त्यसो भनेर निस्केका उनी दिउँसो मृत भेटिएको श्रीमती सरिता राईले बताएकी छिन् ।

यसबारे प्रहरीले भने बुझ्ने काम भइरहेको बताएको छ । एसपी भट्टराईका अनुसार इन्द्रबहादुरको परिवार पनि बल्खुको सुकुमवासी बस्तीमा बस्थ्यो ।

तर इन्द्रबहादुुर प्रहरीको सर्म्पकमा नहुने, कहिले कता बस्ने कहिले बस्ने गरेको बताउँछन् । ‘परिवार बल्खुको सुकुमवासी बस्तीमा बस्ने रहेछ । उहाँ (इन्द्रबहादुर) भने परिवारको सम्पर्कमा नहुने भन्ने बुझिएको छ । उहाँ बस्ने ठाउँको पनि ठेगान नरहेको भन्ने सुनेका छौं । बाँकी विस्तृत बुझ्ने काम हुँदैछ,’ एसपी भट्टराईले भने ।

यता श्रीमती सरिताले भने बिहान मात्रै घरबाट निस्केको बताएकी छिन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनु भयो ।’

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा लामो समयदेखि बस्दै आएको बताइएको छ ।

ranechhap