काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूले नेकपा एमालेको सदस्य नवीकरण गरिसकेको भए पनि अहिले होल्डमा रहेको बताएकी छन् । नुवाकोट पुगेकी भण्डारीले पार्टीका नेता कार्यकर्तासँग कुरा गर्दै एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन भएको बताइन् ।
उनले भनिन्, ‘एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन हो, प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो । म अनेक हिसाबले जोडिएको छु, तपाईँहरूले माने पनि नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अहिले होल्डमा छ ।’
उनले आफू एमालेको हिजोको पार्टी सदस्य रहेको भन्दै आज पनि रहेको जिकिर गरिन् ।
उनले भनिन्, ‘म २०३७ सालको पार्टी सदस्य हो । अहिले एमाले हुँ, त्यतिखेर माले थियो, माले हुँदै एमाले भएको हो। एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ, त्यसको जस मदन भण्डारीलाई जान्छ । मदन भण्डारीको म श्रीमतीको नाताले पनि तपाईँहरू मलाई सम्झिनुहुन्छ । एमालेको नामसँगसँगै जबज, जबजसँगसँगै मदन भण्डारी र त्यससँगै अनेक हिसाबले म जोडिएको छु ।’
उनले नेपाली जनताको समर्थन, माया र एमालेको सङ्घर्षको एउटा परिणतिको रूपमा आफू दुई पटक राष्ट्रपति भएको बताइन् ।









































