वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सय दिन नपुग्दै सरकार जनविरोधी बाटोमा लाग्यो, नसच्चिए आन्दोलनको नेतृत्व मजदुरले गर्छन् : माधव नेपाल

khanepani

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी र मजदुरविरोधी काम गरिरहेको भन्दै कडा आलोचना गरेका छन् । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सय दिन पनि नपुग्दै गलत बाटोमा हिँड्न थालेको भन्दै नसच्चिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेता नेपालले सरकारले सुकुम्बासी, मजदुर, ट्रेड युनियन अधिकार, जनताको आवास र रोजगारीको अधिकारमाथि बेवास्ता गर्दै दमनको नीति लिएको आरोप लगाए । उनले सरकारका पछिल्ला कदमहरू जायज र उचित नभएको दाबी गर्दै यस्ता गलत कामको डटेर विरोध गर्न पार्टीसम्बद्ध मजदुर नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘यो सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । जनताको बास बस्ने र रोजगारीको अधिकार खोसिरहेको छ,’ नेपालले भने, ‘तपाईंको सय दिन पनि पूरा भएको छैन तर लक्षण राम्रो देखाइरहनु भएको छैन । भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ, नाजायज होइन ।’

अहिले नै सरकारलाई निरन्तर आरोप लगाइरहने पक्षमा आफूहरू नरहेको र सुध्रिनका लागि मौका दिन चाहेको उनले स्पष्ट पारे । यद्यपि, जनतालाई पीडा र यातना दिने काम बन्द नगरे त्यसको अगुवाइ गर्दै मजदुर वर्ग सडक आन्दोलनमा उत्रिने उनको चेतावनी थियो ।

तथ्याङ्क सङ्कलन नगरी र उचित वैकल्पिक व्यवस्थापन नखोजीकन सुकुम्बासीलाई हटाउने कार्य कुनै पनि हालतमा जायज नभएको उनले बताए । देश बनाउने चाहना सबैको साझा हुनुपर्ने भन्दै उनले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको र नागरिकको संवैधानिक अधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोपसमेत लगाए । कार्ल मार्क्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात् गर्दै अघि बढ्न उनले मजदुरहरूलाई आग्रह गरे ।

फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री नेपालले देशको भूराजनीतिक अवस्था अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै असंलग्न परराष्ट्र नीतिको महत्त्वमाथि प्रकाश पारे । नेपाल दुई ठूला छिमेकी मुलुकको बिचमा रहेको स्मरण गराउँदै उनले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै नेपाली सचेत हुनुपर्ने बताए । ‘हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको पुच्छर पनि बन्न सक्दैनौँ,’ विदेश नीतिबारे बोल्दै उनले भने ।

देशमा बढ्दो बेरोजगारी र युवाहरूको निरन्तरको विदेश पलायनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेता नेपालले शिक्षालाई व्यावहारिक सीप र रोजगारीसँग अनिवार्य रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याए । प्रतिकूल राजनीतिक अवस्था आए पनि निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले हारपछि जित अवश्य हुने बताए । मजदुर वर्गले समाजका सबै तहका समस्या बुझेर अबको परिवर्तनको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए ।

ranechhap