काठमाडौं । नागरिक पहिलो अभियानले मंसिर १६ गते हुने स्थानीय निकायको उपनिर्वाचनमा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ ।
अभियानका प्रवक्ता प्रशान्त सिंहले विहीबार एक विज्ञप्ति जारी गर्दै स्थानीय निकायका लागि दलीयभन्दा गैरदलीय जनप्रतिनिधि बढी उपयोगी, कामकाजी र प्रभावकारी हुने देखिएको तर्क गरिएको छ।
‘स्थानीय निकाय दलीय राजनीतिक दाउपेच, चलखेल र षड्यन्त्रको थलो नभएर स्थानीय उन्नत लोकतन्त्र, सहमतीय अभ्यास, सामुदायिक विकास र सर्वाङ्गीण प्रगतिको आधारशीला हो’ विज्ञप्तिमा भनिएको छ, ‘देशमा दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र आधारित कुशासन, भ्रष्टाचार, अतिदलीयकरण, कमिसनतन्त्र, सुस्त विकास र पक्षपात बढ्दै गएको सन्दर्भमा स्थानीय निकायका लागि दलीयभन्दा गैरदलीय जनप्रतिनिधि बढी उपयोगी, कामकाजी र प्रभावकारी हुने देखिन्छ।’
स्थानीय लोकतन्त्रका सर्वोत्तम र पवित्र संस्थाका रूपमा चित्रित गर्दै नागरिक पहिलो अभियानले भनेको छ, ‘वडा र पालिकामा नागरिकत्व जति बलियो हुन्छ, देशको स्थानीय लोकतन्त्र उत्तिकै सबल, सक्षम र सफल हुन्छ। दलीय उम्मेदवार नागरिक भावनाको हैन, नेतातन्त्रका उपज हुन्।’
स्थानीय तहमा दलीय उम्मेदवारलाई चयन गर्दा नागरिक सार्वभौमसत्ता संकुचित हुने अभियानको तर्क छ। ‘बहुदलीय लोकतन्त्रमा स्थानीय निकायको निर्वाचन दलीय आधारमै हुनु पर्दछ भन्ने छैन। दलतन्त्रभन्दा नागरिकतन्त्र अझ उन्नतस्तरको लोकतन्त्र हो’ अभियानको विज्ञप्तिमा भनिएको छ।
अभियानले भारत, अमेरिका, स्वीट्जरल्याण्ड, क्यानडा, जापान लगायत संसारका थुप्रै लोकतान्त्रिक देशमा स्थानीय निर्वाचन गैरदलीय र स्वतन्त्र नागरिकत्वको आधारमा हुने उल्लेख गरेको छ।