वि.सं.२०८३ साउन २९ शुक्रवार

रोल्पा पहिरोबाट विस्थापितको पुनर्स्थापनाका लागि सरकारलाई नेकपाको ध्यानाकर्षण

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले रोल्पा थवाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँ तथा सुनछहरी–२, फलबाङमा गएको पहिरोले ठूलो मानवीय तथा धनसम्पत्तिमा क्षति पुर्‍याएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै पहिरोमा परेको खोजी, उद्धार, उपचार र विस्थापितहरूको पुनर्स्थापनाका लागि सक्रिय रूपमा जुट्न सम्बन्धित सबै पक्षसँग विशेष अपिल गरेका छन्।

मृतकका परिवारलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन र त्यस्ता जोखिमयुक्त बस्तीमा हुनसक्ने सम्भावित थप क्षतिप्रति सचेत रहँदै तत्काल स्थानीय जनताको जीवनरक्षा, पीडितहरूको उद्धार, विस्थापितहरूको पुनर्स्थापना र दीर्घकालीन रूपमा स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था गर्न समेत माग गरेको छ।

पहिरोमा परेर जीवन गुमाउनु भएका व्यक्तिका परिवारहरूलाई राहत र क्षतिपूर्ति, बेपत्ताहरूको खोजी र उद्धार, घाइतेहरूको उपचार तथा पीडितहरूको पुनर्स्थापनाका लागि आवश्यक सबै प्रकारको सहयोग र पहल गर्ने प्रतिबद्धता जनाएको छ।

पहिरोमा परेर थवाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँमा पहिरोमा पुरिएका १३ जनामध्ये हालसम्म ११ जनाको मृत्यु पुष्टि भइसकेको र २ जना अझै बेपत्ता रहेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरो जाँदा एक जनाको निधन हुनुका साथै ३ जना बेपत्ता भएको जनाइएको छ।

ranechhap