वि.सं.२०८३ साउन १५ शुक्रवार

एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून

khanepani

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट सोमबार पनि पेसी तोकिएको छ। यसअघि पटक पटक पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको मुद्दा सोमबार गोलाद्वारा दुई न्यायाधीशको इजलासमा पेसी तोकिएको हो ।

आज उक्त मुद्दा न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको छ। एमालेको जग्गा विवादका मुद्दाभन्दा माथि १९ थान मुद्दा पेसीमा रहेका छन् । उक्त मुद्दा यस अघि ६ पटक पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । यस अघि गत शुक्रवार पेसी तोकिएको थियो । न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भयो ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासमा बिहीबार सुनुवाइका लागि एकल इजलासमा अन्तरकालीन आदेश जारी गरेको थियो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।

मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी रिटमा गरिएको छ।

ranechhap