काठमाडौं सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ।
गृहमन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र पीडित परिवारलाई जनही रु. १०-१० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
गृहमन्त्रीद्वारा हस्ताक्षरित सहमति-पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया तत्काल अघि बढाउने उल्लेख छ। त्यसैगरी, प्रत्येक मृतकका परिवारबाट एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन्।
यस्तै, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा ‘स्मृति पार्क’ निर्माण गरिने सम्झौतामा उल्लेख छ।
सहमतिका प्रमुख बुँदाहरू:
- सहिद घोषणा र राहत: मृतकद्वयलाई नेपाल सरकारका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने। साथै, मृतकका परिवारलाई प्रतिपरिवार रु. १०,००,०००/- (अक्षरेपी दस लाख रूपैयाँ मात्र) राहत उपलब्ध गराउने।
- निष्पक्ष छानबिन र कारबाही: २०८३ साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने।
- मदरसाको छानबिन: देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सोसँग सम्बन्धित विषयबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने।
- रोजगारीको व्यवस्था: प्रत्येक मृतकका परिवारका एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने।
- प्रतिवेदन कार्यान्वयन: घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने।
- स्मृति पार्क निर्माण: मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने।
- अन्तिम संस्कार: २०८३ साउन १५ गते दिउँसो २:०० बजे मृतकहरूको अन्तिम संस्कार गर्ने।






































