काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले सुनसरीलगायतका तराई–मधेसका विभिन्न जिल्लामा फैलिएको विषम तथा तनावपूर्ण अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै धार्मिक तथा साम्प्रदायिक संवेदनशीलतासँग सम्बन्धित यो विषम परिस्थितिका बेलामा सम्पूर्ण नेपाली नागरिकहरूमा संयमता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा हार्दिकता कायम राख्न अपिल गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक भएकाले नेपाली समाज विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गर्नुपर्ने हाम्रो दायित्व भएको बताए ।
उनले भने, ‘यही विविधताका बिचमा हाम्रा पुर्खाले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व कायम गरी सँगै मिलेर बस्ने संस्कृति दिएका छन् । यही विविधताबिचको एकता, आपसी सद्भाव, सहिष्णुता र पारस्परिक सम्मान नै हाम्रो देशको राष्ट्रिय पहिचान र गौरवको आधार हो । यसो भएको हुनाले हामीले हाम्रा पुर्खाले दिएको संस्कृति, देशको राष्ट्रिय पहिचान र गौरवको आधारलाई कायम राख्न आज हामीले नेपाली समाज विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गर्नुपर्ने हाम्रो दायित्व हो ।’
उनले नेपाली आफैँ मिलेर धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँदै नेपाली–नेपालीबिच कुनै प्रकारको वैमनस्यता, विभाजन वा द्वन्द्व होइन, प्रेम, सम्मान र भाइचाराको सम्बन्ध विस्तार गर्ने अभियानमा जुट्न सके मात्र समृद्ध, शान्त र एकताबद्ध नेपालको निर्माण सम्भव भएको बताएका छन् ।
डा.कोइरालाले यस संवेदनशील परिस्थितिमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सबै राज्य संयन्त्रले निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढङ्गले आफ्नो भूमिका निर्वाह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष सक्रियता देखाउन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूले समाजमा विश्वास, सहिष्णुता र सद्भावको वातावरण निर्माण गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन् ।
पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिँदै समाजमा शान्ति, संयम र भाइचाराको सन्देश प्रवाह गर्ने अभियानमा सक्रिय हुनका लागि पनि आग्रह गरेका छन् ।






































