वि.सं.२०८३ साउन १५ शुक्रवार

ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार

khanepani

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमाससहितका सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि ‘शान्ति बोर्ड’ले सहमति जुटाएको घोषणा गरेका छन् । हमासका एक वरिष्ठ अधिकारीले पनि उक्त योजनाअनुसार पूर्ण रूपमा हतियार त्याग्न आफूहरू सहमत भएको बताएका छन् ।

हमासले यससम्बन्धी औपचारिक वक्तव्य छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ । यद्यपि, यस विषयमा इजरायलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत गाजामा निशस्त्रीकरणको प्रक्रिया पूरा भएपछि इजरायली सेना त्यहाँबाट फिर्ता हुने बताएका छन् । उनले यसलाई गाजामा नयाँ प्यालेस्टिनी सरकारमार्फत शासन सञ्चालन गर्ने दिशामा ‘महत्त्वपूर्ण कदम’ को संज्ञा दिएका छन् ।

अमेरिकी मध्यस्थतामा अघि बढाइएको गाजा युद्धविराम योजनाको दोस्रो चरणअन्तर्गत हमासको निशस्त्रीकरण र गाजाको पुनर्निर्माण समावेश गरिएको छ । ट्रम्पले यो सम्झौतालाई आफ्नो २० बुँदे योजनाको कार्यान्वयनमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै चरणबद्ध रूपमा लागू गरिने बताएका छन् ।

उनका अनुसार निशस्त्रीकरण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्थायित्व बलले नयाँ प्यालेस्टिनी प्रहरीसँग मिलेर गाजाको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हाल्नेछ । ट्रम्पले मध्यस्थकर्ताको भूमिका खेलेका इजिप्ट, कतार र टर्कीलाई धन्यवाद पनि दिएका छन् ।

इजिप्टको राजधानी कायरोमा युद्धविराम योजनाको दोस्रो चरण कार्यान्वयनबारे मध्यस्थकर्ताहरूको बैठक बस्ने तयारी रहेको बताइएको छ । यसअघि कायरोमा हमास र मध्यस्थकर्ताबीच भएको वार्तामा उल्लेखनीय प्रगति भएको समाचार सार्वजनिक भए पनि एक इजरायली अधिकारीले प्रस्तावित सर्तहरू आफ्नो देशका लागि स्वीकार्य नभएको बताएका थिए ।

ट्रम्पको घोषणापछि इजरायली सञ्चारमाध्यमहरूले हमास, शान्ति बोर्ड र मध्यस्थकर्ता राष्ट्रहरूबीच सम्झौतामा हस्ताक्षर भएको दाबी गरेका छन् । तर इजरायली पक्षले भने प्रस्तावित निशस्त्रीकरण योजना यरुशलेमको मागअनुसार नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

यसअघि पनि इजरायली सञ्चारमाध्यमहरूले हमाससँग भइरहेको सम्भावित सम्झौताप्रति इजरायल सकारात्मक नरहेको समाचार सार्वजनिक गरेका थिए ।

ranechhap