05, Dec, 2024

निर्मला पन्त बलात्कारको प्रत्यक्षदर्शी हुँ भन्नेलाई सीआइबीले गर्‍यो सोधपुछ, मानसिक समस्या रहेको दाबी

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ कार्तिक २०८१, बुधबार ११:३४ | ३ हफ्ता अगाडी

काठमाडौं । आफूलाई निर्मला पन्त बलात्कार हत्याको प्रत्यक्षदर्शी दाबी गर्दै एक व्यक्ति भाइरल भएपछि प्रहरीले चासो दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले हिजो उनलाई बोलाएर दिनभरि सोधपुछ गर्‍यो ।

नवराज अर्याल नामक व्यक्ति प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन् ।
तीन जनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ । उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ । धेरैले उनको कुरा पत्याएका छैनन् ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले पनि अर्यालका कुराहरू विश्वसनीय नरहेको बताए । उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘हामीले हिजो दिनभरि सोधपुछ गर्‍यौँ । तर, उनका कुराहरू विश्वास गर्न लायक छैनन् ।’

धमलासँगको अन्तरवार्तामा जस्तै अर्यालले प्रहरीसँग पनि आफू प्रत्यक्षदर्शी भएको दोहोर्‍याएका थिए । उनले तीनजना व्यक्तिहरूको नाम समेत लिएका छन् ।

बोगटीले भने, ‘उनले घटनासँग असम्बन्धित व्यक्तिहरूको नाम लिएका छन् । गाडीमा हिँडेको बेला देखेको भन्छन् । तर, घटनाको प्रकृतिसँग उनको बयान मेल खाँदैन । त्यसैले हामीले उनको बयानलाई गम्भीरतापूर्वक लिन सकेनौँ । मैले ऋषि धमलाजीलाई पनि फोन गरेर यस्ता हावादारी कुरा गरेर भ्रम नफैलाउन भनेको छु । उहाँले एडिट गर्छु भन्नुभएको छ ।’

अर्यालको मानसिक अवस्था ठीक नरहेको अनुमान प्रहरीले गरेको छ । उनले ३० वर्षसम्म सवारीचालकका रूपमा सरकारी जागिर खाएका थिए । २०७७ सालमा नक्कली लाइसेन्सको मुद्दा परेपछि उनी जागिरबाट बर्खास्त भए । त्यसपछि उनी मानसिकरुपमा समस्याग्रस्त बनेको बोगटी बताउँछन् ।

अर्यालले प्रहरीसँग आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको र आफू बिचल्ली अवस्थामा रहेको बारम्बार गुनासो गरेका थिए ।
अन्तरवार्तामा के छ ?

धमलासँगको अन्तरवार्तामा अर्यालले आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको गाडी हाँक्दा सो घटना प्रत्यक्ष देखेको दाबी गरेका छन् । कञ्चनपुरमा भएको बेला झण्डाबाल गाडी लिएर हिँड्दा प्रत्यक्ष देखे पनि वास्ता नगरेको उनको भनाइ छ ।

‘मन्त्रीज्यू घरमा हुनुहुन्थ्यो । म र एकजना प्रहरी गाडी लिएर घुम्न निस्किएका थियौं । बाटोमा उखुबारी थियो । त्यो बहिनी साइकल लिएर आएकी रहिछन् । उनीसहित चार जना थिए । त्यो अवस्थामा देखेपछि मैले के भएको हो भनेर सोध्दा प्रहरी साथीले गाउँमा यस्तै हो भनेपछि हामीले हस्तक्षेप गरेनौं । पछि बलात्कार र हत्या भएको खबर आयो,’ उनले भनेका छन् ।

यो घटनामा संलग्न तीनजनामध्ये एकजना कञ्चनपुरको र दुईजना बाहिरको भएको अर्यालको दाबी छ । तीनैजनाको नाम भन्न सक्ने दाबी समेत उनले गरेका छन् ।

अर्यालले यो घटना बाहिर ल्याउन खोज्दा आफूमाथि पटक पटक आक्रमण भएको पनि बताएका छन् । उनको खुट्टा र गर्दनमा गहिरो चोटसमेत देखिन्छ ।

विगतमा आफूले अहिलेका मन्त्रीहरु प्रकाशमानसिंह र रमेश लेखकको गाडीसमेत चलाएको अर्यालले बताएका छन् ।

२८ कार्तिक २०८१, बुधबार ११:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading