वि.सं.२०८३ वैशाख १८ शुक्रवार

मोटरसाइकलको ठक्करबाट पर्सामा एकजनाको मृत्यु

khanepani

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक सहित ४ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ठोरी गाउँपालिका ४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउको, खुट्टा र हातमा चोट लागेका उनलाई नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एल।एस। न्युरो अस्पताल पानी ट्याङीमा रिफर गरिएको थियो । न्युरो अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार राति ९ बजेतिर भएको घटनामा ठोरी ४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका ३ नौका टोलाका ४५ वर्षीय राम सिंह चौधरी घाइते भएका छन् ।

मोटरसाइकल चालक चौधरी सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा छन् भने अन्य घाइतेको न्युरो अस्पतालमै उपचार चलिरहेको छ ।

मधुको टाउको, हात र खुट्टामा, आनन्दको हातमा र सञ्जयको टाउको र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

शनिबार साँझ वीरगञ्ज ठोरी हुलाकी सडकखण्डअन्र्तगत गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जनालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

साँझ विजयवस्तीबाट जीराभवानी गापा ३, नौकाटोला जाँदै गरेका चौधरी सवार ग९प ९५८७ नम्बरको मोटरसाइलले उनीहरुलाई ठक्कर दिएको थियो ।

वीरगञ्ज ठोरी हुलाकी सडक खण्ड कालोपत्रे भएपछि ठोरीमा मोटरसाइकल दुर्घटनाको दर बढेको स्थानीयले बताएका छन् ।

अधिकांश दुर्घटना मादक पदार्थ सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको प्रहरीले जनाएको छ ।

ranechhap