22, Jul, 2024

भारतमा ५ किशोरी बेचिएकोमा गल्ती स्वीकार्दै आशिष संस्थाले गर्‍यो कर्मचारी निलम्बन

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १२:२२ | ३ महिना अगाडी

रुपन्देही । चेलीबेटी बेचबिखन नियन्त्रण तथा उद्धारको क्षेत्रमा काम गरिरहेको आशिष सामाजिक संस्थाले २ कर्मचारीलाई निलम्बन गरेको छ । उक्त संस्थाका कर्मचारीहरूको योजनामा ५ नेपाली किशोरी भारत पुगेको समाचार सार्वजनिक गरेको थियो ।

फागुन ३ गते आशिष सामाजिक संस्थाका कर्मचारीले रुपन्देहीको कक्रहवा नाकाबाट भारत जान लागेका २ किशोरीलाई सीमा क्षेत्रमा रोक्नुको साटो अर्को बाटो प्रयोग गरेर लगिएको थियो । ती २ सहित भारतबाट ५ किशोरीको उद्धारपछि संस्थाकै कर्मचारीको मिलेमतोको रहस्य खुलेको थियो ।

उक्त संस्थाले ती किशोरीलाई रोक्न नसक्नु ठूलो कमजोरी भएको स्वीकार गर्दै यसबाट ठूलो पाठ सिकेको जनाएको छ । यो संस्थाले चेलिबेटी बेचबिखनविरुद्ध ६३ सालदेखि काम गर्दै आएको छ । संस्थाका लुम्बिनी प्रदेश प्रमुख विजया खत्रीले सीमा क्षेत्रमा कार्यरत् कर्मचारी सबै महिला नै रहेको र विगतमा उनीहरू यस्तै समस्याबाट अनुभव संगालेर आएको बताउँदै त्यो दिन रोक्न नसक्नु कमजोरी भएको स्वीकारिन् ।

‘कर्मचारी आफैं भिक्टिम हुन्, उनीहरूले कुनै स्वार्थमा गल्ती गरेका होइनन्, ती किशोरीले निकै अनुरोध गरेपछि छोडेको तर पछि गल्ती महसुस गरेको बताएका छन्, हामीले यो सूचना पाएलगत्तै निलम्बन गरेर राखेका छौं र अब यो काममा जिम्मेवारी दिनेछैनौ, धेरै किशोरी र महिलालाई रोकेका उनीहरूले त्यो दिन छोडेर गम्भीर गल्ती गरे’, उनले भनिन् । आशिषले बेलहिया, कक्रहवा, महेशपुर नाकामा ४/४ जनाका दरले कर्मचारीसहितको डेस्क राखेको छ ।

‘धेरै महिलालाई उद्धार भएको छ तर यो विषयमा सानो कमजोरीले सबै राम्रा कामलाई ओझेलमा पार्न भएन । यो विषयमा प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृतलाई राखेर कुरा गर्नेछौं’, उनले भनिन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताए ।

‘यो घटना गम्भीर विषय हो, हामी अनुसन्धानमै छौं, शुक्रबार सरोकारवालाई बोलाएर थप प्रकाश पार्नेछौं’, उनले भने ।

घटना विवरणअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १६ वर्षीय मुस्लिम समुदायकी किशोरीले कक्रहवा नाकामा रहेका ती संस्थाका कर्मचारीले बाठो देखाएको आधारमा आफूहरु भारतमा पुगेको र पीडित भएको बताएकी थिइन् । उनले आफूलाई बोर्डिङ स्कूलमा पढ्ने मन भएको, सँगैका साथीहरू सर्टपाइन्ट र टाई लगाएर स्कुल गएको देख्दा रहर लागेको, भाइ बोर्डिङ जाँदा आफूलाई पनि जाने मन लागेको आमालाई सुनाएपनि गाली गरेपछि कमाउने मन लागेर साथीको सल्लाहमा भारत जान खोजेर यस्तो भएको बताइन् ।

उनका बुबाआमाले मदरसामा भर्ना गरिदिएका थिए । बोर्डिङ स्कुलमा भर्ना गरिदिन बुबाआमाले नमानेपछि चिन्तामा लागेको र किशोरीका एक जना साथीलाई पनि मदरसामा त्यस्तै समस्या परेपछि सल्लाहमै भारत जाने र कमाउने निर्णय गरेका हुन् । भर्खरै १६ वर्ष पुगेका उनीहरूले आफ्नो चाहना विपरीत मदरसामा भर्ना गरिदिएपछि घर छोडेर हिँड्ने निधो गरेर यसरी हिंडेको पत्रकारहरूसँग बताएका थिए । फागुन २ गते घरका सबै जना सुतेपछि राती १० बजेतिर सुटुक्क घरबाट एक दुई जोर कपडा बोकेर निस्किएका उनीहरू राती १ बजे लुम्बिनीबाट भारत छिर्ने कक्रहवा नाका पुगेका थिए ।

मध्यरातमा सीमानाकामा प्रहरीबाहेक कोही पनि थिएन । नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी थिए भने भारततर्फ भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी थिए ।

रातको समयमा दुई जना किशोरी भारततर्फ जाँदै गरेको देखेपछि नेपाली सुरक्षाकर्मीले सोधपुछ गरेपनि उनीहरुले ढाँटेर आफूहरू भारतीय रहेको, काम विशेषले नेपालमा रहेका आफन्तकोमा आएको र अहिले आफ्नो घर फर्किन लागेको जिद्दि गरेका थिए । उनीहरूले भारतीय सुरक्षाकर्मीलाई पनि त्यही कुरा दोहोराए ।सीमाक्षेत्रमा खटिएका नेपाली र भारतीय सुरक्षाकर्मीले मध्यरातमा यसरी हिँडेका किशोरीहरू कसैको प्रलोभनमा परी भारत जान लागेको शंका गरेपनि रोक्न सकेनन् । कक्रहवा नाका राती बन्द भएपछि बिहान ६ बजेमात्र खुल्ने भएपछि उनीहरु भारत पस्न पाएनन् र चेलिबेटी बेचविखन विरूद्धको अभियान चलाउँदै आएको आशिष सामाजिक संस्थाका कर्मचारीलाई दुबैतर्फका सुरक्षाकर्मीले ती दुबै किशोरी त्यही संस्थाका प्रतिनिधिको जिम्मा लगाएका थिए ।

घरबाट भागेर हिँडेकाले उनीहरू बहानाबाजी गरेर जतिसक्दो छिटो सीमापारि जाने योजनाले अर्को कुनै बाटोबाट पठाइदिन आग्रह गर्दै आफूहरू भारतीय नै रहेको र आफ्नो घर भारतमै भएको विश्वास दिलाएका थिए ।

आशिष सामाजिक संस्थाकै कर्मचारीले भारत पस्ने भित्री बाटोे देखाइदिएपछि बिहान उज्यालो नहुँदै उनीहरू भारत पसिसकेको ती किशारीले बताएका छन् । उनीहरू हराइसकेपछि गाउँमा खोजी सुरू भयो र तीन गते दिनभरि नभेटिएपछि परिवारजनले इलाका प्रहरी कार्यालय, लुम्बिनीमा खोजीका लागि निवेदन दिएपछि बल्ल उनीहरु भारत लागेको शंका भएको थियो ।

त्यसपछि भारतीय हौं भन्ने विश्वास दिलाएर सीमा पार गरेका किशोरीहरू नेपाली हुन् भन्ने थाहा भयो। लगत्तै नेपाल प्रहरीले भारतीय सुरक्षाकर्मीको समन्वयमा खोजी सुरू गरिएको थियो । साथमा पैसा नभएको र भारतको रेल वे स्टेशनमा पुगेका किशोरीहरू कहाँ जाने भन्ने अन्योलमा अलमलमा परेको देखेपछि करिब ४५ वर्ष उमेरका एक भारतीयले काम लगाइदिन्छु भनेर विहारको वैशाली पु¥याएर गलत काममा लगाएको किशारीहरुको भनाइ छ ।

ती किशोरीसँग उद्धार गरिएका धनुषाका दुई र पर्साका १ किशोरीलाई भने काममा लगाइदिने भन्दै आफन्तले नै भारत पुर्‍याएका थिए । दुई दाजुभाइका छोरी रहेका उनीहरू पढाइ छाडेर कामको खोजीमा थिए । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनीहरूले पढाइ छाडेका थिए ।

गरिबीको अनुचित फाइदा उठाउँदै आफन्तबाटै भारतको मधुवनी पुर्‍याइए । पर्साकी युवतीलाई भने गाउँकै व्यक्तिले बिहेको नाटक गरेर नैनीताल पुर्‍याएका थिए । उनीहरू सबैलाई के. आई. एन. भारतले उद्धार गरेर एकैचोटि नेपाली प्रशासनलाई बुझाएको हो । उद्धार गरेर ल्याइएका किशोरीहरू अहिले जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको संरक्षणमा छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने-‘उद्दार भएका किशोरीको भनाइमा ती संस्थाकै कर्मचारीको भूमिका प्रष्ट देखिएको छ, हामीले थप अनुसन्धान गर्दैछौं, यो क्षेत्रमा काम गर्ने सबै संस्थाका कागजपत्र मगाएर तत्काल अनुसन्धान गर्न निर्देशन दिइसकेको अवस्था छ ।’

अर्यालका अनुसार पहिले उनीहरूलाई मनोपरामर्श दिइने छ । त्यसपछि मात्र परिवारमा जिम्मा लगाइने छ । अर्यालले सीमा क्षेत्रमा बसेर मानव बेचबिखनको विरूद्ध काम गर्ने भनिएको संस्थाले नै दुई किशोरीलाई सीमा पार गर्न सघाएको देखिएकोले उक्त संस्थालाई कारबाही गर्ने पनि जनाएका छन् । उनले यो क्षेत्रमा काम गर्ने सबै संस्थाहरुको कागजपत्र मगाएर अनुसन्धान गरी सार्वजनिक गर्ने बताएका छन् ।

के. आई. एन. भारतका नेपाल संयोजक इन्द्रराज भट्टराईले प्रत्येक छोरीचेलीलाई मेरै छोरीचेली, मेरै दिदीबहिनी हो भन्ने नमान्दासम्म बेचबिखनका घटना भइरहने बताए । उनका अनुसार मानव बेचबिखनको तरिका फेरिँदै गएको छ । कतिपय नेपाली चेलीहरूलाई भारत हुँदै श्रीलंका र ओमन लगायतका देशमा पठाउँछु भनेर भारतमै बेचबिखन गर्ने प्रवृत्ति बढेको छ ।

२९ चैत्र २०८०, बिहीबार १२:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading