झापा । झापामा हालसम्म ४५ हजारभन्दा बढीले (कोभिड१९) विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ पुगेको छ ।
झापामा आठ नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ जना र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २ सय जनाले खोप लगाएका छन् ।
शिवसताक्षी नगरपालिकाका चार हजार ७४९, गौरादह नगरपालिकाका चार हजार ६५३, विर्तामोड नगरपालिकाका तीन हजार ७७३, कन्काई नगरपालिकाका तीन हजार ४९९, कमल गाउँपालिकाका तीन हजार २४८र भद्रपुर नगरपालिकाका तीन हजार ७५ जनाले कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाइसकेका छन् ।
यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४ जनाले खोप लगाएका छन् भने अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१, कचनकवल गाउँपालिकाका दुई हजार १२३ र हल्दिबारी गाउँपालिकाका दुई हजार एक जनाले खोप लगाइसकेका छन् ।
झापा गाउँपालिकाका एक हजार ८२३, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ र बाह्रदशी गाउँपालिकाका एक हजार २ सय जनाले कोरोना विरुद्धको खोप लगाइसकेको लुइँटेलले बताए ।
गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा (कोभिड१९) महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयंसेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।









































