काठमाडौं । गत वर्षको तुलनामा यसपालि बैंकहरूको नाफा घटेको छ। यो आर्थिक वर्षको पहिलो छ महिनामा १७ वाणिज्य बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा खस्किएको छ। दस वटा बैंकको भने नाफा बढेको देखिन्छ। मर्ज गरेर यो वर्ष संयुक्त कारोबारको विवरण देखाइँदा केही बैंकको नाफा बढेको हो।
समग्रमा २७ वाणिज्य बैंकले साउनदेखि पुस मसान्तसम्म ३१ अर्ब ७ करोड रूपैयाँ खुद नाफा कमाएका छन्। गत वर्षको यस अवधिमा ३२ अर्ब २० करोड कमाएका थिए। यो नाफा कर छुट्याइसकेपछिको हो।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका सिइओ भुवनकुमार दाहालले मर्जमा गएकाको नाफा बृद्धि देखिए पनि अरू धेरैको घटेको बताए।
कोरोना प्रभावले आर्थिक गतिविधिमा संकुचन आउँदा नाफामा कमी आएको उनले स्पष्ट पारे।
‘कोरोनाकै कारण ऋणमा प्रोभिजन बढ्यो। अर्कोतर्फ बैंकमा लगानीयोग्य रकम पर्याप्त रहिरहँदा सस्तो ब्याजमा ऋण दिन प्रतिस्पर्धा भएर असर देखियो,’ दाहालले सेतोपाटीसँग भने।
नियमित रूपमा ऋणीबाट ब्याज र साँवा रकम उठ्न नसकेमा बैंकहरूले सोवापत समयावधिअनुसार ५ देखि शत प्रतिशतसम्म प्रोभिजन (छुट्टै व्यवस्थापन) गर्नुपर्छ। कोरोनाका कारण कतिपयले नियमित साँवा र ब्याज रकम तिर्न सकेका छैनन्।
त्यस्तै लगानीयोग्य रकम थन्किँदा बैंकको लागत बढ्न गएर नाफामा असर परेको दाहाल बताउँछन्। थन्किएको रकममा निक्षेपकर्तालाई ब्याज दिइरहनुपर्छ, तर त्यसबाट ब्याज आम्दानी हुँदैन।
बैंकहरूलाई सिसिडी रेसियोमा ८५ प्रतिशतको सीमा छ। तर औसतमा ७४ प्रतिशत मात्रै कायम हुनुले लगानीयोग्य रकम पर्याप्त रहेको पुष्टि गर्छ।
यसको अर्थ संकलित निक्षेप र मूल पुँजीको योगफलमा ८५ प्रतिशतसम्म बैंकहरूले कर्जा प्रवाह गर्न सक्छन्। अहिले तोकिएको अधिकतम सीमाभन्दा ११ प्रतिशत कम छ। रकम थन्किनुभन्दा सस्तो ब्याजमै ऋण दिन बैंकहरूबीच प्रतिस्पर्धा छ।
बैंकहरूको स्प्रेड दर घट्दै जाँदा नाफामा असर परेको बताउँछन् राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ।
हाल यस्तो दर औसतमा ४.० प्रतिशत छ, जबकि गत वर्षको यस अवधिमा ५.० प्रतिशत थियो। बैंकहरूले बचतकर्तालाई दिने ब्याज र ऋणीबाट लिने ब्याजको औसत दर नै स्प्रेड दर हो। यो दर नै बैंकहरूको आम्दानी हो।
‘राष्ट्र बैंकले नै स्प्रेड दरको अधिकतम सीमा घटाउँदै लगेको छ,’ श्रेष्ठले भने। यस्तो दर सबै वाणिज्य बैंकले ४.४ प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था छ।
हाल रकम थन्किँदा बैंकहरूले आधार दरमा ०.५ प्रतिशतभन्दा कम प्रिमियम दर तोकेर ऋण दिइरहेको श्रेष्ठले बताए, ‘रकम थन्किँदा प्रतिस्पर्धा हुन गयो। आधार दरमै ऋण दिनुपर्ने अवस्था छ। अनि नाफा त घट्ने नै भयो।’
गत वर्ष पुस मसान्तसम्म राष्ट्रिय वाणिज्यले सबभन्दा धेरै, २ अर्ब २० करोड खुद नाफा कमाएको थियो। यो वर्ष उसको नाफा १ अर्ब ७५ करोडमा खुम्चिएको छ।
ग्लोबल आइएमईले ६ महिनामा सबभन्दा धेरै, २ अर्ब ३१ करोड रूपैयाँ नाफा कमाएको छ। तत्कालीन जनता बैंकलाई गाभेकाले ग्लोबल आइएमईको नाफा उच्चदरले बढेको देखिन्छ।
त्यस्तै मेगा, प्राइम कमर्सियल, एनएमबी र कुमारीको नाफा मर्ज/एक्वीजिसनकै कारण उच्चदरले बढेको देखिन्छ।
प्रभु, सिटिजन्स, नेपाल बंगलादेशले भने वास्तविक रूपमै नाफा बढाएका छन्। सनराइज र एनआइसी एसियाको नाफा पनि सामान्य बढेको छ।
गत वर्ष ६ महिनामै १६ बैंक ‘अर्ब क्लब’ मा थिए। अहिले १३ वटा बैंक परेका छन्।
एभरेष्ट, हिमालयन, एसबिआई, सिद्धार्थ र स्टान्डर्ड चार्टडजस्ता बलिया बैंक ‘अर्ब क्लब’बाट बाहिरिएका छन् भने मेगा र कुमारी समाहित भएका छन्।




































