वि.सं.२०८३ साउन ११ सोमवार

गोविन्द केसीसँगको सहमति मस्यौदा सिंहदरबार पठाइयो, प्रधानमन्त्री कार्यालयको जवाफ पर्खिँदै वार्ता टोली

khanepani

धनगढी । डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनका विषयमा प्रारम्भिक सहमति जुटेपछि तयार पारिएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ।

केन्द्रबाट जवाफ आएपछि आजै अन्तिम सहमति जुटाउने प्रयास भइरहेको वार्तामा सहभागी एक सदस्यले बताएका छन्।

डा. केसीले राखेका पाँच बुँदे मागका विषयमा आइतबार भएको लामो वार्तापछि अधिकांश बुँदामा सहमति जुटेको जनाइएको छ।

वार्ता टोलीका एक सदस्यका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने विषयमा सहमति भएको छ। उपकुलपतिलाई भने यथावत् राख्ने विकल्पमा पनि छलफल जारी रहेको बताइएको छ।

आइतबार करिब ११ घण्टा चलेको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजेदेखि पुनः वार्ता सुरु भएको हो। शिक्षा मन्त्रालयको अग्रसरतामा गठित सरकारी टोली र डा. केसी पक्षबीच अझै केही विषयमा अन्तिम सहमति हुन बाँकी छ।

यस्तै, गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गर्ने, चालु शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्ने, छात्रवृत्ति ऐन कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू कार्यान्वयन गर्ने विषयमा सरकार सकारात्मक देखिएको वार्ता टोलीले जनाएको छ।

वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल तथा पुकार बम सहभागी छन्। डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा वार्तामा सहभागी छन्।

वार्ताका क्रममा सरकारी टोलीले पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरेको थियो भने त्यसपछि सेती प्रादेशिक अस्पताल पुगेर डा. केसीसँग पनि प्रत्यक्ष संवाद गरेको थियो।

डा. केसी गत बिहीबारदेखि धनगढीमा सत्याग्रहमा छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाह अनुसार शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गरिँदै आएको छ। वार्ता टोलीले केन्द्रबाट आउने जवाफपछि आजै सहमतिको मस्यौदालाई अन्तिम रूप दिने प्रयास जारी रहेको जनाएको छ।

ranechhap