सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा झडप हुँदा गोली चलेको घटनापछि सप्तरीमा पनि उच्च सतर्कता अपनाइएको छ ।
सप्तरीको राजविराजमा पनि केहीबेरदेखि प्रदर्शन भइरहेको छ ।
लगत्तै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो ।
बैठकले जिल्लामा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने विषयमा दुई बुँदे सहमति गरेको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु भएको थियो ।
बैठकमा राजनीतिक दलका प्रतिनिधि, दुई समुदायबीचका सरोकारवालाको सहभागीता रहेको थियो ।
सहमतिको पहिलो बुँदामा पछिल्लो समय विभिन्न जिल्लाका घटनालाई आधार बनाएर फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित घृणात्मक अभिव्यक्ति दिने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि रोक्न सबै पक्षलाई आग्रह गरिएको छ ।
यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ ।
त्यस्तै, सप्तरीको बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई जोगाउँदै जिल्लाभित्र शान्ति, सुरक्षा, सद्भाव र अमनचयन कायम राख्नु सबैको साझा दायित्व रहेको उल्लेख सहमतिमा गरिएको छ ।
साथै विभिन्न जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायबीच आपसी एकता, सहिष्णुता, सद्भाव र भ्रातृत्व कायम राख्न सबै पक्ष सहमत भएका छन् ।





































