काठमाडौं। नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारी (एमओयू) सम्पन्न भएको छ।
समझदारीपत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरेका हुन्। दुवै संस्थाले नेपालमा गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धन, शिक्षाको अन्तर्राष्ट्रियकरण तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
समझदारी अनुसार इक्यानका सदस्य शैक्षिक परामर्श संस्थाले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थामा सञ्चालन हुने अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, करियर सम्भावना लगायतका विषयमा प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई तथ्यपरक, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुवै संस्थाले संयुक्त रूपमा क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, द्यद्दद्य नेटवर्किङ कार्यक्रम, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियान अन्तर्गत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यसबाट शिक्षाक्षेत्रमा कार्यरत संस्थाहरूबीच समन्वय, सहकार्य तथा सूचना आदान–प्रदानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
समझदारीले क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने बाटो पनि खुला गरेको छ।
यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि दुवै संस्थाले सहकार्य गर्ने भएका छन्।
समझदारी हस्ताक्षर समारोहमा दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।







































