वि.सं.२०८३ भदौ २६ शुक्रवार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी चिनफिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै

khanepani

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी शनिबार र आइतबार भारतको नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सीले भारत भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सीको भारत भ्रमणको घोषणा गरेका हुन् । यो भ्रमण सात वर्षपछि सीको पहिलो भारत भ्रमण हुनेछ । घोषणालगत्तै भारतीय सञ्चारमाध्यमले यसलाई विशेष महत्त्वका साथ प्रकाशन गरेका छन् ।

‘द इन्डियन एक्सप्रेस’ले सीको भ्रमणलाई उच्चस्तरीय कूटनीतिक भेटवार्ताका रूपमा व्याख्या गर्दै यसले दुई एसियाली शक्तिबिच सम्बन्ध सुधार र स्थायित्वका लागि भइरहेका प्रयासमा प्रभाव पार्न सक्ने जनाएको छ ।

चीन र भारतबिच पछिल्ला वर्षमा सीमा विवादका कारण सम्बन्धमा तनाव रहँदै आएको थियो । तर पछिल्लो समय दुई देशबिच सम्बन्धमा सुधारका संकेत देखिएका छन् । विज्ञहरूले सीको भारत भ्रमणलाई यही सुधार प्रक्रियालाई थप अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरेका छन् ।

‘इन्डिया चाइना इकोनोमिक एन्ड कल्चरल काउन्सिल’का प्रमुख मोहम्मद सकिबले सीको भ्रमणले यसपटकको ब्रिक्स सम्मेलनको महत्त्व नै बढाएको बताएका छन् ।

सम्बन्ध सुधारको अवसर

भारतले ब्रिक्स सम्मेलनलाई चीनसँगको सम्बन्ध सुधार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरेको विज्ञहरूको भनाइ छ । सम्मेलनका क्रममा सी र मोदीबिच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ । गत अगस्ट २५ मा बेइजिङमा चीन र भारतबिच सीमा मामिलासम्बन्धी विशेष प्रतिनिधिहरूको २५औँ चरणको वार्ता भएको थियो । वार्ताका क्रममा आठबुँदे सहमति भएको थियो । दुवै पक्षले उक्त सहमतिलाई सम्बन्ध सुधारको सकारात्मक संकेतका रूपमा लिएका छन् ।

विज्ञका अनुसार रणनीतिक, राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सी भ्रमणका प्रमुख विषय बन्न सक्छन् ।

सकिबले चीन र भारतबिच आर्थिक तथा प्राविधिक क्षेत्रमा महत्त्वपूर्ण परिपूरक क्षमता रहेको बताए । उनका अनुसार चीनसँग उत्पादन तथा ‘हार्डवेयर’ क्षेत्रमा बलियो क्षमता छ भने भारतसँग सफ्टवेयर तथा ठुलो युवा जनशक्ति छ ।

अमेरिकासँगको सम्बन्ध पनि पुनर्विचारमा

सकिबका अनुसार पछिल्ला घटनाक्रमले भारतलाई आफ्नो विदेश नीतिका प्राथमिकता पुनर्विचार गर्नुपर्ने आवश्यकताबारे थप सचेत बनाएको छ । भारतका केही वृत्तमा अमेरिकासँग घनिष्ठ सम्बन्ध कायम गरेमा भारतको विकासलाई स्वतः सहयोग पुग्ने र अमेरिकाले सधैँ नयाँदिल्लीको पक्षमा दृढतापूर्वक उभिने धारणा रहेको उनले बताए । तर व्यवहारमा अमेरिकाले आफ्नै राष्ट्रिय हितअनुसार नीति अघि बढाउने उनको भनाइ छ ।

उनले चीन भारतको छिमेकी मात्र नभई दुई देशबिच प्राचीन सभ्यता, इतिहास र संस्कृतिको गहिरो सम्बन्ध रहेको बताए । यद्यपि, चीन–भारत सम्बन्धमा विश्वास पुनर्निर्माणको काम अझै जारी छ र ब्रिक्सजस्ता बहुपक्षीय मञ्चले दुवै देशलाई एकअर्काका चासो बुझ्ने र सम्बोधन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

ब्रिक्समा ग्लोबल साउथको आवाज

सीको भारत भ्रमणको महत्त्व चीन–भारत सम्बन्धमा मात्र सीमित छैन । यसलाई ब्रिक्समा ग्लोबल साउथको सहकार्य, बहुध्रुवीय विश्व र विश्वव्यापी शासन प्रणाली सुधारसँग पनि जोडेर हेरिएको छ ।

ब्रिक्स विस्तारपछि यो समूह पहिलेभन्दा ठुलो बनेको छ । यस्तो अवस्थामा सदस्यता, समूहको एकता र आर्थिक सहकार्यका प्राथमिकताबीच सन्तुलन कायम गर्नु सम्मेलनको प्रमुख चुनौती हुने विज्ञ बताउँछन् । भारतले यस वर्षको ब्रिक्स अध्यक्षता गरिरहेको छ । नयाँदिल्लीमा सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनस्थल भारत मण्डपम तथा राजधानीका प्रमुख सडकमा ब्रिक्ससम्बन्धी पोस्टर र ब्यानर राखिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भारतले यस वर्षको अध्यक्षताका लागि उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपन निर्माणलाई मूल विषय बनाएको छ । सम्मेलनमा स्थानीय मुद्रामा कारोबार, सीमापार डिजिटल भुक्तानी, बहुपक्षीय वित्तीय संस्थामा विकासशील मुलुकको प्रतिनिधित्व तथा आवाज बढाउने विषय प्रमुख एजेन्डा बन्न सक्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, ब्रिक्सको न्यु डेभलपमेन्ट बैंकको कारोबार र पहुँच विस्तार, ऊर्जा तथा स्वच्छ ऊर्जा रूपान्तरण, हरित वित्त, जलवायु परिवर्तन, खाद्य सुरक्षा र कृत्रिम बुद्धिमत्ताको शासनसम्बन्धी विषयमा पनि साझा धारणा निर्माण गर्ने प्रयास हुने विज्ञहरूले बताएका छन् ।

चीन भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार

भारतको अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेको छ । आर्थिक वर्ष २०२५/२६ मा भारतको आर्थिक वृद्धि करिब ६.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यही अवधिमा चीन र भारतबिचको वस्तु व्यापार करिब १५१ अर्ब अमेरिकी डलर पुगेको छ ।

यससँगै चीन भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ । राजनीतिक तथा सीमा विवाद कायम रहे पनि दुई देशबिचको आर्थिक अन्तरनिर्भरता भने उल्लेख्य रूपमा बढेको देखिन्छ ।

भारतीय विज्ञहरूका अनुसार यही आर्थिक सम्बन्धलाई स्थिर र विस्तार गर्न सकेमा त्यसको प्रभाव दुई देशमा मात्र सीमित रहने छैन । ग्लोबल साउथका विकासशील मुलुकले ऊर्जा अभाव, बढ्दो मूल्य र आर्थिक कठिनाइ सामना गरिरहेका बेला चीन र भारतले उनीहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा उठाउन सक्ने अपेक्षा गरिएको छ ।

ranechhap