काठमाडौं । प्रतिनिधिसभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति आकृति अवस्थीका अनुसार शुक्रबार बसेको समितिको बैठकले हेल्प डेक्स राखेर सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको हो ।
उनले विपद्को संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा पीडितलाई प्रलोभन, दबाब र झुटा आश्वासन दिने जोखिम रहेको बताइन् ।
विशेषगरी रसुवाको बेत्रावती तथा त्रिशूली करिडोर, टिमुरे, खट्टेखोला, स्याफ्रुबेसी, हाँकुबेसी र मैलुङलगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ ।
समितिले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह यौन शोषण, लैङ्गिक हिंसा, दुव्र्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्पडेस्क सञ्चालन गर्न तथा स्थानीय तहमा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएको छ ।
पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानुनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताइन् ।
समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
सभापति अवस्थीका अनुसार समितिमा रहेका दक्षता, नेतृत्व क्षमता र अनुभव भएका सांसदलाई सम्बन्धित क्लस्टरमा परिचालन गरी अध्ययन तथा आवश्यक सुझाव दिन सक्ने व्यवस्था गर्न उपसमिति गठन गर्न लागिएको हो ।
उपसमिति दलीय आधारमा गठन गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।








































