वि.सं.२०८३ जेठ ६ बुधवार

प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री जर्जिया मेलोनी भेटबीच चर्चामा: कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा ‘मेलोडी’ चकलेट

khanepani

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच रोममा विशेष मित्रता देखिएको छ । कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा टफी आदानप्रदानसम्मका दृश्य सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।

मेलोनीले प्रधानमन्त्री मोदीबाट प्राप्त विशेष उपहारका लागि सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेकी छन् । उनले मजाकिया शैलीमा मोदीले आफूलाई भारतको चर्चित टफी ‘मेलोडी’ उपहार दिएको उल्लेख गरिन् । ‘प्रधानमन्त्री मोदी मेरो लागि निकै राम्रो टफी मेलोडी लिएर आउनु भएको थियो,’ उनले लेखेकी छन् ।

प्रधानमन्त्री मोदीले डिनरका क्रममा दुवै नेताबीच विश्व राजनीति र द्विपक्षीय सम्बन्धसँग जोडिएका महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिएका छन् । त्यसपछि दुवैले रोमको ऐतिहासिक तथा प्रसिद्ध कोलोसियमको भ्रमणसमेत गरेका थिए ।

मोदी रोम पुगेपछि मेलोनीले सामाजिक सञ्जालमार्फत ‘मेरो साथी, रोममा स्वागत छ’ भन्दै स्वागत गरेकी थिइन् ।

दुवै नेताले भारत–इटाली सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वाकांक्षी मार्गचित्र पनि सार्वजनिक गरेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित संयुक्त लेखमार्फत भारत–इटाली सम्बन्धलाई ‘विशेष रणनीतिक साझेदारी’ को संज्ञा दिइएको छ ।

‘इटाली एन्ड इन्डिया : ए स्ट्राटेजिक पार्टनरशिप फर द इन्डो–मेडिटेरेनियन’ शीर्षकको संयुक्त लेखमा दुवै नेताले भारत र इटालीको सम्बन्ध निर्णायक चरणमा पुगेको उल्लेख गरेका छन् । उनीहरूले यो सम्बन्ध केवल मित्रतामा सीमित नभई स्वतन्त्रता, लोकतन्त्र र साझा भविष्यको दृष्टिकोणमा आधारित साझेदारी बनेको बताएका छन् ।

लेखमा भारत–इटाली सम्बन्धलाई इन्डो–प्रशान्त र भूमध्यसागरीय क्षेत्रलाई जोड्ने नयाँ भूराजनीतिक परिवर्तनको हिस्सा भनिएको छ । यसलाई व्यापार, ऊर्जा, प्रविधि, तथ्यांक र रणनीतिक सम्पर्कको नयाँ सञ्जालका रूपमा व्याख्या गरिएको छ ।

दुवै नेताले बदलिँदो विश्व व्यवस्थाबीच राजनीतिक समन्वय, आर्थिक एकीकरण र प्रविधिगत सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। २१औँ शताब्दीमा समृद्धि र सुरक्षा नवप्रवर्तन, ऊर्जा रूपान्तरण र रणनीतिक आत्मनिर्भरतामा निर्भर रहने उनीहरूको भनाइ छ।

संयुक्त लेखमा इटालीको औद्योगिक तथा उत्पादन अनुभवलाई भारतको विशाल अर्थतन्त्र, नवप्रवर्तन प्रणाली र इन्जिनियरिङ क्षमतासँग जोड्ने योजना पनि उल्लेख गरिएको छ। दुवै देशले सन् २०२९ सम्म द्विपक्षीय व्यापार २० अर्ब युरोभन्दा माथि पुर्‍याउने लक्ष्य तय गरेका छन्। यसका लागि रक्षा, अन्तरिक्ष, स्वच्छ ऊर्जा, मेसिनरी, औषधि उत्पादन, कपडा उद्योग र पर्यटन क्षेत्रमा विशेष सहकार्य गरिने जनाइएको छ।

ranechhap