काठमाडौँ । सांसदहरूले जनताका जल्दाबल्दा समस्याहरू तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठ लगायतले किसानका लागि समयमा नै मल र विउविजनको व्यवस्था गर्नुपर्ने लगायतका आम जनताका सरोकारका विषयमा गम्भीर बन्न सरकारलाई सचेत गराएका हुन्।
बैठकमा बोल्दै सांसद लामिछानेले किसानलाई खेतीबालीका लागि आवश्यक पर्ने सबै सामग्रीहरूको उचित व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भने, ‘किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ, बीजन र आवश्यक कृषि औजारको अभावमा छन्। समयमा नै मल नपाउँदा उत्पादनमा ह्रास आउने सम्भावना छ। यसले किसान निराश भइरहेका छन् र कृषि पेसानै सङ्कटमा पर्दै गइरहेको छ। आफ्ना जग्गा जमिनका उत्पादन गरेका वस्तु खेतदेखि पेटसम्म पुर्याउनका लागि र आफ्ना गोठमा उत्पादित भएका वस्तु गोठदेखि ओठसम्म पुर्याउनका लागि दुःख गर्ने कृषकलाई सम्झेर सरकारसँग म माग गर्दछु कि खेतीको समयमा आवश्यक पर्ने मल, विउविजन र कृषि औजार सहज, सुलभ र समयमा उपलब्ध गराउने सुनिश्चितता गरियोस्।’
त्यसैगरी सांसद इन्दिरा रानामगरले झापामा एसियन हाइवे बनाउने क्रममा बस्तीमा वायु प्रदूषण हुने गरी अलकत्र निर्माण कार्य गरिएको भन्दै त्यसलाई तत्काल हटाउन सरकारसँग माग गरिन्। उनले पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन्।
संसद्मा बोल्दै उनले भनिन्, ‘झापा क्षेत्र नम्बर २ मा वायु प्रदूषणका कारण धेरै क्यान्सर पीडितहरू छन्। एसियन हाईवे बनाउने भनेर अलकत्रहरू बस्तीमा बनाएका छन्। हटाउन धेरै पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको अवस्था छ। यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै गरेर यो पाटन औद्योगिक क्षेत्र भनेको घरेलु उद्योगको लागि छुट्ट्याइएको औद्योगिक क्षेत्रलाई अहिले ठुला उद्योग खोलेर धेरै मानिसहरू बिरामी भएको र केहीको मृत्यु पनि भएको भन्ने कुरा थाहा पाइयो।’
बैठकमा सांसदहरूले सरकारले पर्यटन प्रवर्द्धनका लागि सक्षम संरचना निर्माणमा ध्यान दिनुपर्ने र कर्मचारीहरूको नियुक्ति प्रक्रियामा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिएका छन्। सांसद अनुष्का श्रेष्ठले भनिन्, ‘सक्षम पदाधिकारी नियुक्ति गर्ने कार्यमा ढिलाइ नगर्न पनि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। समयमा नै इफेक्टिभ पर्यटन प्रवर्द्धनका निम्ति सक्षम, सृजनात्मक नेतृत्व र संरचना तत्काल आवश्यक छ नि सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई निवेदन गर्न चाहन्छु।’
सांसद श्रेष्ठले सरकारले नागरिकको सेवाका कामहरूलाई थप तीव्रताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिइन्।








































