काठमाडौं । जेन–जी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताए ।
अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमै क्षय हुँदै गएको धारणा व्यक्त गरेका छन । अन्सारीकाअनुसार लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ । उनले गत वर्षको २३ गतेको आन्दोलन शुरुमा सरकार ढाल्ने नियतले नभई अनियमितता विरुद्ध र राज्यको न्युनतम जवाफदेहिता खोज्नका लागि मात्र भएको स्पष्ट पारे । संविधान निर्माणपछिको एक दशक पुराना राजनीतिक दलहरूकै वर्चश्व रहेका कारण नयाँ र वैकल्पिक बहसहरू मूलधारमा आउन नसकेको उनको तर्क छ । २३ गतेको घटनापछि पुराना दलहरू एक किसिमले विस्थापित हुँदा नयाँ बहस शुरु भएपनि सामाजिक सञ्जालमा देखिएको ‘झोले’, ‘सुल्फे’ वा ‘खरानी’ जस्ता गालीगलौज र चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थाहरूलाई थप कमजोर बनाएको उनले उल्लेख गरे ।
उनले भने, नागरिकहरू केवल जवाफदेहिता माग्न सडकमा उत्रिएका थिए, तर आफ्नै नागरिकमाथि बल प्रयोग गरिएपछि २४ गते सरकार ढल्ने परिस्थिति निर्माण भयो । टिकटक जस्ता माध्यममा पेट्रोल बम बनाउने तालिम चलिरहँदा र आन्दोलनको तयारी भइरहँदा सुरक्षा निकाय बेखबर रहनु उदेकलाग्दो छ । कोरियाली ईपीएस काण्ड र चैत १५ को राजावादी आन्दोलन जस्ता पूर्वसंकेतहरू हुँदाहुँदै पनि राज्यले सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक लिएको देखिएन । हामी नागरिक सत्ताको बलमा परिवर्तन चाहन्थ्यौँ, तर हाम्रा सुरक्षा निकायहरू यति कमजोर भएछन् कि उनीहरूलाई आन्दोलनको सामान्य स्वरूप समेत थाहा भएन । राष्ट्रिय सुरक्षा केवल वाह्य हस्तक्षेपबाट मात्र होइन, हाम्रा आफ्नै संरचनाहरू भित्रभित्रै खोक्रो भएका कारण बढी जोखिममा छ ।’
सुरक्षा निकायको भूमिकामाथि कडा प्रश्न उठाउँदै अन्सारीले राज्यको गुप्तचरी र पूर्वतयारी शून्य देखिएको आरोप लगाए । प्रधानमन्त्रीलाई सुरक्षा दिनुपर्ने निकायले नै ‘उद्धार गर्न सक्दैनौँ, राजीनामा दिनुस्’ भन्नुले संस्थागत कमजोरीको पराकाष्ठा उजागर गरेको उनको भनाइ छ । उनले लोकतन्त्रलाई दिगो बनाउन संस्थागत सुदृढीकरण र विचारको ध्रुवीकरणलाई रोक्नुपर्नेमा जोड दिए ।








































