काठमाडौँ । रास्वपा निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै आपत्ति जनाएको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिश्चन्द्र भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै साउन ३० गते सम्पन्न निर्वाचन प्रक्रिया अत्यन्तै धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत भएको दाबी गरेका हुन् ।
उनले कानुन व्यवसायीको पेशागत हक, स्वतन्त्रता, मर्यादा र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्ने जिम्मेवारी बोकेको बार संस्थाकै निर्वाचन निष्पक्ष, पारदर्शी र विश्वसनीय नभएको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘निर्वाचन व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको संलग्नतामा निर्वाचन सञ्चालन गरिएको र सम्बन्धित कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता एवम् निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरिएको छ ।’
उनले बार एशोसिएसनको निर्वाचन कुनै व्यक्ति वा समूह विशेषको स्वार्थपूर्तिको माध्यम नभई समग्र कानुन व्यवसायीहरूको साझा संस्था निर्माण गर्ने लोकतान्त्रिक अभ्यास हुनुपर्नेमा स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता, वैधानिकता र कानुन व्यवसायीहरूको सार्वभौम सहभागिता नभएको बताएका छन् ।
उनले निर्वाचनमा देखिएको गतिविधिले निष्पक्षता र वैधानिकतामाथि नै गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।






































