काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा कमजोर देखिएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै महासचिव पोखरेलले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता किन टाढिए भन्ने विषयमा निर्मम समीक्षा नगरेसम्म कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव नरहेको बताएका हुन्।
कम्युनिस्ट आन्दोलनमा अधिकार र सङ्घर्षका कुरा धेरै भए पनि समाज बदल्ने मुख्य आधार ‘अर्थराजनीति’ को विषय उपेक्षित रहेको उनको भनाइ छ ।क्रान्तिपूर्वको ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागू हुन नसकेको र सरकारमा हुँदा आमरूपमा शक्ति क्षयीकरण हुन पुगेको उनले उल्लेख गरेका छन्।
कम्युनिस्ट पार्टी नेतृत्वको सरकार हुँदा देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि जनसमर्थन भने बढ्नुको साटो घट्न पुगेको उनले विश्लेषण गरेका छन्।
२०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ को केपी शर्मा ओली नेतृत्वको ९ महिने वामपन्थी सरकारबाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले जनमत बढाउन नसकेको उनले दाबी गरेका छन्। आम निर्वाचन २०८२ मा सिङ्गो वामपन्थी आन्दोलनले बेहोर्नु परेको असाधारण धक्काले वाम तथा कम्युनिस्ट आन्दोलनका बारेमा नयाँ ढङ्गले चिन्तन मनन गर्ने ठाउँमा पुर्याएको उनको भनाइ छ।
सरकारमा हुँदा नेता र कार्यकर्तामा सामाजिक रूपान्तरणप्रतिको हुटहुटी किन शिथिल भयो भन्नेबारे गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्। हरेक समस्याका पछाडि कारण हुने र त्यसको समाधान पनि त्यसमै निहित हुने मार्क्सवादी मान्यता रहेको उल्लेख गर्दै पोखरेलले समस्याबाट नभागी सामना गरेर अघि बढ्नुपर्ने बताएका छन्।








































