वि.सं.२०८३ साउन ३१ आइतवार

कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको अन्तिम दिन, यस्ता छन् आजका कार्यक्रम

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला) समूहद्वारा आयोजित ३ दिने राष्ट्रिय भेला आज सकिँदैछ। गत २९ गतेदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको भेलाको आज अन्तिम दिन विभिन्न सांगठनिक र राजनीतिक एजेन्डाहरूमा छलफल गरी निष्कर्ष निकालिने कार्यक्रम छ।

भेलाको अन्तिम दिनको कार्यतालिकाबारे जानकारी दिँदै कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले अहिले प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी र छलफलको काम भइरहेको बताइन् ।

‘अहिले भेलामा प्रस्तुत गरिएका प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले आ–आफ्नो धारणा र टिप्पणी राखिरहनु भएको छ,’ खतिवडाले भनिन्, ‘प्रतिवेदनमाथिको छलफल सकिएपछि सातै प्रदेशका संयोजकहरूले प्रदेशगत अवस्था र आगामी रणनीतिबारे आफ्नो मन्तव्य राख्नुहुनेछ।’

प्रदेश संयोजकहरूको सम्बोधनपश्चात् इतर समूहका केही शीर्ष नेताहरूले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

खतिवडाका अनुसार, नेताहरूको सम्बोधन सकिएपछि आजै अपराह्न पत्रकार सम्मेलनको आयोजना गरिनेछ। पत्रकार सम्मेलनमार्फत भेलाले पारित गरेका विशेष प्रस्तावहरू र ३ दिने राष्ट्रिय भेलाको निष्कर्ष सार्वजनिक गरेपश्चात् भेलाको समापन हुनेछ।

ranechhap