सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा अस्थायी टहरा भत्काउँदा सात जना घाइते भएका छन् भने दुई जना सम्पर्कविहीन भएका छन् ।
पहिरोका कारण घटनास्थलतर्फ जाने बाटोसमेत अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलतर्फ गएको छ । पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको कच्ची घर तथा भेरी नगरपालिका–३ की भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
घाइतेमध्ये भेरी नगरपालिका–२ रिसाङका करिब ६० वर्षीय रामबहादुर शाहीको अवस्था गम्भीर रहेको छ । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाइएको छ । सोही ठाउँका करिब ४५ वर्षीय सिद्धिबहादुर कामीको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
भेरी नगरपालिका–२ चिसापानीकी करिब ५७ वर्षीया भद्राकली कार्कीको अवस्था पनि गम्भीर रहेको छ । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई सुर्खेत पठाइएको छ । भेरी नगरपालिका–२ डौरीकाँडाका करिब ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक र ५२ वर्षीय केदार कार्की पनि घाइते भएका छन् ।
पहिरोपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाकी करिब ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन भएका छन् । घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेलाई अस्पताल पठाउने, सम्पर्कविहीनको खोजी गर्ने तथा पहिरोबाट भएको थप क्षतिको विवरण संकलन गरिरहेको छ । आवश्यक उद्धार कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ ।




































