वि.सं.२०८३ जेठ १ शुक्रवार

नारायणघाट-बुटवल सडकको भौतिक प्रगति ९१.३४ प्रतिशत

khanepani

चितवन । नारायणघाट-बुटवल सडक योजनाको पूर्वी खण्डको बैशाखसम्मको भौतिक प्रगति ९१.३४ प्रतिशत रहेको छ ।

सडक योजनाका अनुसार यो खण्डको दाउन्ने क्षेत्रको सम्पूर्ण लम्बाईको यात्रा ढलान सडकमा गर्न सकिने भएको छ । योसँगै नारायणघाटदेखि ६५ किलोमिटर दाउन्ने सम्मको सम्पूर्ण यात्रा अब पक्की सडकमा गर्न सकिने आयोजनाले जनाएको छ ।

नारायणघाट-बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमी सडकमध्ये ७० किमी ६ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण अब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

२०७५ माघ २२ मा सरकार र निर्माण कम्पनी चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडबीच २०७९ साउन २२ भित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ११४ किलोमिटर सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।

निर्धारित समयमा एकचौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । त्यसपछि २०८२ साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले तेस्रोपटक म्याद थप गरेको थियो । म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । गत साउनसम्म पनि काम सम्पन्न नभएपछि सरकारले अन्तिम पटक भन्दै आगामी २०८३ साउन ९ गतेसम्मका लागि चौथो पटक म्याद थप गरेको थियो । अब यहि म्याद भित्र काम सकिसक्नुपर्ने छ ।

ranechhap