वि.सं.२०८३ भदौ १ सोमवार

हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न सांसद प्रकाश गौतमको माग

khanepani

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले प्रतिनिधिसभा बैठकमा नेपालको औद्योगिक गौरवका रुपमा रहेको हेटौंडा सिमेन्ट उद्योगको गम्भीर संकट पुगेको बताएका छन् ।

उक्त उद्योगमा काम गर्ने मजदुरहरुको जीवनमा निम्त्याएको मानवीय आपत्बारे सरकारको ध्यान जानुपर्ने बताए ।

संसदमा बोल्दै उनले भने, ‘उद्योगसँग आफ्नै मेसिन, चुनढुंगा खानी, दक्ष जनशक्ति र बजारको सम्भावना हुँदाहुँदै पनि हाल उत्पादन पूर्ण रुपमा बन्द रहेको छ । उद्योगमा कार्यरत कर्मचारीहरुले पछिल्लो एक वर्षदेखि तलब पाउन सकेका छौनन् । उद्योगले ऋण लिने ठाउँ समेत बाँकी छैन । बालबालिकाको स्कुल शुल्क तिर्न नसेकेर धेरै परिवार चरम मानसिक तथा पारिवारिक पीडामा बाँचिरहेका छन् ।’
उत्पादनको प्रतीक्षामा रहेका ७५ जना कर्मचारीमध्ये ३–४ जनाको निधन भइसकेको समेत उनले बताए ।

सांसद गौतमले उनीहरुले जीवनभरको पसिनाको प्रतिफल समेत नपाएरै बिदा हुनुपरेको दुःखद अवस्था रहेको बताए । यो समस्या केवल आर्थिक चुनौती मात्र नभई राज्यको ढिलासुस्तीले सिर्जना गरेको गम्भीर मानवीय संकट रहेको उनको भनाई छ ।

सरकारसँग दृढ इच्छाशक्ति भए हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न कुनै असम्भव नरहेको स्पष्ट पार्दै सांसद गौतमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए ।

दक्ष व्यवस्थापन टोली खटाएर, आवश्यक बजेट सुनिश्चित गरी, बक्यौता दायित्व व्यवस्थापन गर्दै उद्योगलाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन समेत माग गरेका छन् ।

ranechhap