काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्।
सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उनले नेपालमा यस वर्षको मनसुन औसत भन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको बताएका हुन्।
नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ। भदौ १ सम्म आइपुग्दा मनसुन अवधि करिब एक महिना १४ दिन बाँकी रहेको छ।
अब जोखिम व्यवस्थापनका लागि ‘काउन्टडाउन’मा जानुपर्ने अवस्था रहेको प्रमुख उप्रेतीले बताएका छन्। उनका अनुसार यस वर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्यपहाडी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठुलो जनधनको क्षति भएको छ भने मधेश क्षेत्रमा औसत भन्दा निकै कम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क उद्धृत गर्दै प्रमुख उप्रेतीले नेपालमा वार्षिक औसत वर्षा करिब १ हजार ४ सय ७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिब ८ सय २४ मिलिमिटर वर्षा भएको जानकारी दिएका छन्।
यो कुल औसतको करिब ५५ प्रतिशत हो। वर्षाको समग्र परिमाण भन्दा यस वर्षको वितरण र प्रवृत्ति फरक देखिएको उनको भनाइ छ। पश्चिम नेपालमा आगामी तीन दिनमा भारी वर्षासम्म हुन सक्ने र तराई तथा मधेश क्षेत्रमा पनि ठुलो वर्षाको सम्भावना देखिएको उनले बताएका छन्।
‘नेपालले मनसुन भित्रिने दिन जुन महिनाको १३ तारिखलाई र अक्टोबरको २ तारिखलाई बाहिरिने मानेको छ। भदौको १ गते भएकाले अब १ महिना १४ दिन मनसुनको अवधि बाँकी छ,’ प्रमुख उप्रेतीले भने, ‘अब काउन्टडाउनमा जानुपर्छ, किन भने प्रत्येक दिन मनसुन अब कुनै बेला सक्रिय र कुनै बेला निष्क्रिय हुन्छ। यसपालिको एल निनोको प्रभाव र समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले जलवाष्पयुक्त वायु स्थानीय वायुसँग अन्तरक्रिया गर्दा मध्यपहाडी क्षेत्रमा खण्डवृष्टि धेरै भई ठुलो हानि–नोक्सानी गरेको छ।’
उनले अगाडि भने, ‘आज भोलि र पर्सिको तीन दिनको सन्दर्भमा पश्चिम नेपालमा भारी वर्षासम्म हुने देखिन्छ। मधेशमा पहिलो चोटी ठुलो वर्षा झर्दैछ। हिन्द महासागरको ‘इण्डियन ओसन डाइपोल’ (आईओडी) अहिले तटस्थ अवस्थामा छ। यो पोजेटिभ भयो भने दसैँ–तिहारतिर फेरि पानी पर्न सक्ने सम्भावना होला, तर आजै त्यो भन्न मिल्दैन।’
यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनो र आईओडीको अवस्थासँग जोडेर हेर्न सकिने उनले स्पष्ट पारेका छन्। आईओडी सकारात्मक भएमा दसैँ–तिहारको आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने उनले बताएका छन्। मनसुनसम्बन्धी जानकारी दिन एकीकृत सूचना प्रणालीको विकास गर्न लागिएको जानकारी दिँदै उनले स्थानीय तहमा डोजर प्रयोग गरेर अनावश्यक सडक खन्दा वर्षाको समयमा पहिरो जाने जोखिम बढेको उल्लेख गरेका छन्।







































