काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस भएको हो ।
सरकारी पक्षबाट ४ जना र श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाल, अधिवक्ताहरू कृतिनाथ शर्मा पौडेल, अर्जुन खड्का लगायत १७ जनाले बहस गरेका छन् ।
श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लगाइएको छ । पत्रकार श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार मध्यराति पक्राउ गरेको थियो । उक्त पक्राउविरुद्ध उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
इजलासमा पत्रकार श्रेष्ठका वकिलहरूले आफ्नो व्यक्तिगत गोपनीयता उल्लङ्घन गरिएको भनेर उजुरी हाल्ने महिला स्वयम्ले नै रास्वपा सांसदसँग चुम्बन गरेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेको प्रमाण पेस गरेका छन् । अन्तिममा पत्रकार श्रेष्ठले इजलासमा आफ्नो भनाइ राखेका थिए । उनले आफूलाई पूर्वाग्रह साँध्न झूटो मुद्दा लगाइएको जिकिर गरेका छन् ।







































