काठमाडौँ । महानगर यातायातले विद्युतीय गाडीको भाडा वृद्धि गरेको छ । हाल काठमाडौँमा सञ्चालन भइरहेका १० वटा विद्युतीय गाडीको भाडा कम्पनीले वृद्धि गरेको हो ।
यस भन्दा पहिले चालकसँग प्रतिदिन १० हजार ५ सय रुपैयाँ भाडा लिइरहेकोमा हाल वृद्धि गरेर १३ हजार पुर्याइएको छ ।
कम्पनीले गाडीमा यात्रुको चाप वृद्धि भएको र राम्रो कमाइ भइरहेकाले गाडीको भाडा वृद्धि गरिएको बताएको छ । तर, महानगरको विद्युतीय बस चलाउने चालक र सहचालकले भने कम्पनीले भाडा वृद्धि गर्दा आफूहरू मारमा परेको बताएका छन् ।
१० वटा विद्युतीय बस सञ्चालन गरिरहेको महानगरले चालकहरूबाट लिँदै आएको रकममा एकैपटक २ हजार ५ सय रुपैयाँ वृद्धि गरेको हो ।
‘कम्पनीले पहिले हामीसँग साढे १० हजार लिँदै आएकोमा अहिले वृद्धि गरेर १३ हजार पुर्याएको छ । कम्पनीले दैनिक १३ हजार भाडा तिरेर गाडी चलाउने भए चलाऊ, नत्र अन्य चालक आएर चलाउँछन् भन्छ । हामीलाई तलब पनि हुँदैन । काम गरेको दिन कम्पनीलाई साढे १० हजार बुझाउँदा चालक र सहचालकलाई १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म बच्ने गरेको थियो’, महानगरका एक चालकले भने, ‘अब दैनिक १३ हजार बुझाउनु पर्दा हामीलाई भात खाने पैँसा बचाउन पनि मुस्किल छ । तर, काम गर्नुको विकल्प छैन । कम्पनीलाई हामीले भाडा वृद्धि गरेर बुझाउन सकिँदैन भन्दा तपाईंले बुझाउन नसके अर्को चालक आउँछ भन्नुहुन्छ । केही दिन गाडी चलाएर हेर्छु, पैसा नै बचेन भने अन्य कम्पनीको गाडी चलाउन जान्छु ।’
महानगर यातायातका डाइरेक्टर केशव नेपालले दुई दिनअघि मात्रै विद्युतीय बसको भाडा वृद्धि गरेको बताए । उनले भने, ‘हामीले चालकसँग लिने भाडा वृद्धि गरेका हौँ । हाल विद्युतीय गाडीमा यात्रुको चाप बढेको छ । पेट्रोलियम बसको यात्रुसँग लिने भाडा वृद्धि भएको छ, तर विद्युतीय बसको भाडा वृद्धि भएको छैन । यात्रुले विद्युतीय बसमा नै भाडा सस्तो भएकाले यात्रा गर्ने गर्नु भएको छ । बसमा यात्रुको चाप धेरै भएकाले चालक र सहचालकले राम्रो पैसा कमाइरहनु भएको छ । हामीले पनि अध्ययन गरेर नै भाडा वृद्धि गरेका हौँ । विद्युतीय बसले कुनै दिन २० हजारसम्म कमाएको रेकर्ड छ । हामीले करिब एउटा बसमा डेढ करोड लगानी गरेका छौँ । दैनिक रूपमा साढे १० हजार भाडा लिँदा गाडीको किस्ता तिर्न समस्या भएर नै गाडीको कमाइ अनुसार भाडा वृद्धि गरिएको हो । हामीले चालकलाई तलब नै लिएर काम गर्न अनुरोध गर्ने गरेका छौँ, तर चालकहरूले त्यो मान्नुहुन्न । तलब नै तोकेर गाडी चलाउने हो भने महिनामा २५ दिन गाडी चलाउनुपर्छ । कुनै दिन २०–२५ हजार कमाइ भएपछि कम्पनीलाई भाडा बुझाएर बाँकी रहेको पैँसा रहुञ्जेल चालकहरू गाडी चलाउन आउनुहुन्न ।’
कम्पनीका अनुसार गाडीको कागजात बनाउन पनि समस्या परेको छ । कुनै एक चालकको लाइसेन्सको जरिवाना ५० हजार भन्दा धेरै तिर्न बाँकी भएकाले गाडीको कागजात बनाउन बाधा पुगेको हो । अन्य कम्पनीमा काम गरेर जरिवाना तिर्न बाँकी रहेका चालकका कारण यस्तो समस्या परेको कम्पनीको भनाइ छ । पछिल्लो समय कम्पनीले चालकको जरिवाना तिर्न बाँकी छ कि छैन भनेर हेरेर मात्रै सवारी चलाउन दिने गरेको छ ।
महानगरको विद्युतीय गाडी कम्पनीले भाडा वृद्धि गरेपछि सहचालकले पनि यात्रुसँग तोकिएको भन्दा धेरै भाडा उठाउन थालेका छन् । तर, कम्पनीले भने यात्रुसँग बढी भाडा लिएको कुरा स्वीकार गर्दैन ।
पछिल्लो पटक सार्वजनिक सवारीको भाडा समायोजन हुनुभन्दा पहिले विद्युतीय र पेट्रोलियम गाडीको भाडा बराबर नै थियो । तर, हाल विद्युतीय गाडीको भाडा पुरानै कायम छ भने पेट्रोलियम सवारीको भाडा अन्तरप्रदेश र प्रदेशस्तरमा वृद्धि भएको छ ।







































