वि.सं.२०८३ भदौ ३० मंगलवार

एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक सम्पन्न: प्रतिवेदनलाई अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी

khanepani

काठमाडौँ । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को आवासीय बैठकले छलफलका क्रममा उठेका सुझावहरूलाई समेटेर साझा प्रतिवेदन तयार पार्ने जिम्मेवारी तीन शीर्ष नेतालाई सुम्पेको छ। काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा शनिबारदेखि जारी बैठकले कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णु पौडेल र सदस्यसचिव शंकर पोखरेललाई एकीकृत प्रतिवेदनको मस्यौदा बनाउने अख्तियारी दिएको हो।

कार्यदल सदस्य पद्मा अर्यालका अनुसार बैठकमा प्रस्तुत दुई फरक प्रतिवेदनमाथि सदस्यहरूले आ-आफ्नो धारणा राखेका छन्। छलफलमा उठेका विषयवस्तुलाई समेटेर तयार पारिने मस्यौदालाई असोज १ गते बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने निर्णय भएको छ। पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सुदृढ तथा रूपान्तरण गर्न एमालेले गत जेठ १० गते यो कार्यदल गठन गरेको थियो।

यसअघि बैठकमा कार्यदलका संयोजक थापा र महासचिव पोखरेलले फरक-फरक प्रतिवेदन पेस गरेका थिए। महासचिव पोखरेलले पेस गरेको ६५ पृष्ठ लामो प्रतिवेदनमा विधानबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र मुख्य पदमा ‘बढीमा दुई कार्यकाल’ मात्र रहन पाउने व्यवस्था पुनः ब्युँताउन प्रस्ताव गरिएको छ। यसविपरीत, संयोजक थापाको प्रतिवेदनमा भने अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुने अडानसहित ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णयको बचाउ गरिएको छ। यी दुई परस्पर विरोधी दृष्टिकोणलाई मिलाएर साझा दस्तावेज बनाउने चुनौती अब तीन नेताको काँधमा आइपुगेको छ।

ranechhap