काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ ।
पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई स्पष्टीकरण सोध्न लागेको हो ।
केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने एक शीर्ष नेताले जानकारी दिए ।
खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।
विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो।१८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए ।
त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।






































