काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दोलखा, वैतेश्वर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्ने ३७ वर्षीया राधिका बस्नेत रहेकी छन्।
बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर फरार रहेकी बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
बस्नेतविरुद्ध विभिन्न निकायमा ६ वटा बैंकिङ कसूरका मुद्दा दर्ता भएको पाइएको छ। जसमध्ये जिल्ला प्रहरी परिसर भद्रकालीमा २, प्रहरी वृत्त बौद्धमा ३, प्रहरी वृत्त गौशालामा १ र प्रहरी वृत्त सिंहदरबारमा १ मुद्दा दर्ता छन्। उनीमाथि ६० लाख ९० हजार रुपैयाँ बिगो माग गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगार विभाग, ताहाचलमा वैदेशिक रोजगार सम्बन्धी कसूरका २ वटा मुद्दा दर्ता रहेका छन्। ती मुद्दामा १९ लाख २५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।
बस्नेतविरुद्ध विभिन्न कसूरमा कुल ९ वटा मुद्दा दर्ता भई ८० लाख १५ हजार ५ सय रुपैयाँ बिगो माग गरिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।









































