वि.सं.२०८३ असोज ४ आइतवार

कांग्रेसको १५औँ महाधिवेशन: देशभर वडा अधिवेशन अन्तिम चरणमा, ८५ हजारभन्दा बढी प्रतिनिधि निर्वाचित हुने

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सुरु भएको वडा अधिवेशन देशभर आज (आइतबार) सम्ममा सम्पन्न हुँदैछ। शनिबारदेखि सुरु भएको प्रक्रियाअन्तर्गत पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा शनिबार नै अधिवेशन सम्पन्न भएको हो। रसुवा, नुवाकोट र धादिङबाहेकका बाँकी जिल्लाहरूमा आइतबार वडा अधिवेशन जारी रहनेछ।

८५ हजारभन्दा बढी वडा नेतृत्व चुनिने

कांग्रेसले ४६० गाउँपालिकाका ३ हजार २१५, २७६ नगरपालिकाका ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ र ६ महानगरपालिकाका १७४ गरी देशभर ६ हजार ७४३ वडामा अधिवेशन गर्दैछ।

विधानअनुसार देशभरका वडाबाट कुल ८५ हजार ४३४ जना निर्वाचित हुनेछन्, जसमा ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य रहनेछन्।

  • गाउँपालिकाका प्रतिवडा १२ जनाका दरले ३८ हजार ५८० जना,
  • नगरपालिकाका प्रतिवडा १३ जनाका दरले ४० हजार ५६० जना,
  • उपमहानगरपालिकाका प्रतिवडा १५ जनाका दरले ३ हजार ५१० जना, र महानगरपालिकाका प्रतिवडा १६ जनाका दरले २ हजार ७८४ जना निर्वाचित हुनेछन्।

यसैगरी, पार्टीको क्रियाशील सदस्य संख्याका आधारमा एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। यी क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन्, जसले केन्द्रीय नेतृत्व चयनमा मतदान गर्ने अधिकार पाउनेछन्।

बाढी प्रभावित क्षेत्रमा समन्वय गरेर गरिने

भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाहेक अधिकांश ठाउँमा वडा अधिवेशन आज र भोलिसम्ममा सकिने निर्वाचन समितिले जनाएको छ। बाढी प्रभावित क्षेत्रहरूमा भने स्थानीय परिस्थिति र कार्यकर्तासँगको समन्वयका आधारमा अधिवेशनको मिति तय गरिनेछ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ मा जिल्ला र असोज १० मा प्रदेश अधिवेशन हुनेछ। त्यसपछि आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।

ranechhap