काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले १५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका हुन् । ‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ,’ भिडियो सन्देशमा थापाले भनेका छन्, ‘हामी संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौं ।’
उनले संविधानमा कतिपय कुराहरू परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संविधान संशोधनको साहस र स्पष्टता पनि महाधिवेशनबाट ल्याउने बताएका छन् । ‘संविधानमा कतिपय कुराहरू बदल्नुपर्नेछ, जसले संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्नेछ,’ थापाले भनेका छन्, ‘हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौं ।’
थापाले अधिवेशनमा आपसी तिक्तता थप बढाउने अवस्था निर्माण नगर्न पनि आग्रह गरेका छन् । ‘अधिवेशन हाम्रा बीचका नमिलेका मन मिलाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, यसले थप फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न,’ थापाले भनेका छन्, ‘हिजो के भएको थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनका क्रममा बिर्सिनुपर्छ ।’
अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरिएको उनको भनाइ छ । ‘बितेका केही महिनाहरूमा पार्टीभित्रका केही विशिष्ट घटनाहरूले गर्दा केही विषयमा मतहरू बाझिए,’ थापाले भनेका छन्, ‘हामीहरू अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरेका छौं ।’







































