काठमाडौँ । नेकपा (एमाले) पुनर्गठन कार्यदलका लागि नेता प्रदीप ज्ञवालीले २९ पृष्ठको छुट्टै प्रतिवेदन तयार पारेका छन्। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदल बाहिरै रहेर ज्ञवालीले यो प्रतिवेदन तयार पारेका हुन्।
गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष ओलीले ज्ञवालीलाई अलग्गै प्रतिवेदन लेख्न निर्देशन दिएका थिए। सोहीअनुसार तयार पारिएको प्रतिवेदन आइतबार बिहान ९ बजे बस्ने कार्यदलको बैठकमा पेस गर्न शनिबार नै सदस्यहरूलाई पठाइएको छ।
पोखरेलको ‘नेतृत्व परिवर्तन’ प्रस्ताव ज्ञवालीद्वारा खारेज
कार्यदल सदस्य एवं महासचिव शंकर पोखरेलले नेता–कार्यकर्ताको सुझाव समेटेर तयार पारेको प्रतिवेदनमा निर्वाचनमा भएको ऐतिहासिक पराजयको नैतिक जिम्मेवारी लिएर अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका थिए। ओलीले राजीनामा नदिए असोजमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक डाकेर वैधानिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्नुपर्ने पोखरेलको प्रतिवेदनको मूल सन्देश थियो।
तर, ज्ञवालीले महासचिव पोखरेलले अघि सारेको नेतृत्व परिवर्तनको अंश पूरै हटाउँदै ओलीको प्रशंसा समेटेर प्रतिवेदन तयार पारेका छन्। २०७१ सालको नवौँ महाधिवेशनयता ओलीले गरेका कामको चर्चा गर्दै ज्ञवालीले निर्वाचनको हार व्यक्ति विशेषका कारण मात्र नभएको जिकिर गरेका छन्। ओलीले पार्टी छाडेको भए पनि कांग्रेस, मधेशवादी वा अन्य दलझैं चुनावी नतिजा फरक नआउने तर्क उनले प्रस्तुत गरेका छन्।
हारको कारण: बाह्य चलखेल, अल्गोरिदम र नयाँ पुस्ता
ज्ञवालीले एघारौँ महाधिवेशनको लोकतान्त्रिक विधिबाट ओली पुनः निर्वाचित भइसकेकाले नेतृत्व फेरबदलको बाटोमा जान नहुने उल्लेख गरेका छन्। उनको बुझाइमा एमाले पराजयको मुख्य कारण विदेशी चलखेल, अल्गोरिदमको प्रभाव, जेनजी आन्दोलनबारे जनताले बुझ्न नसक्नु र युवा पुस्ता पार्टीबाट टाढिनु हो।
राष्ट्रियता र समृद्धिका अडान अस्थिरता चाहने शक्तिलाई पाच्य नहुँदा पार्टीविरुद्ध छद्म आक्रमण भएको र त्यसमा आन्तरिक कमजोरीले समेत भूमिका खेलेको उनको विश्लेषण छ।
‘एमाले लडाइँ हारेको हो, समग्र युद्ध होइन’
कम्युनिस्ट पार्टीको नेतृत्व बुर्जुवा शैलीमा पपुलिजमको भरमा फेर्न नहुने भन्दै ज्ञवालीले नेतृत्वको विषय केवल सांगठनिक मात्र नभएर वैचारिक भएको जिकिर गरेका छन्। महाधिवेशनको निर्णय सच्याउनुपर्ने कार्यकर्ताको सुझावलाई उनले अभिलेखमा राख्ने र पछि छलफल गर्ने भन्दै पन्छाएका छन्।
पार्टी इतिहासकै ठूलो चुनावी हार व्यहोर्न पुगेको स्वीकार गरे पनि ओलीकै नेतृत्वमा वैचारिक प्रशिक्षण, सांगठनिक सुधार र एकताबद्ध प्रयासबाट एमाले पुनस्र्थापित हुने ज्ञवालीको दाबी छ। निर्वाचनमा प्राप्त मतलाई पार्टी पुनः उठ्ने बलियो जगका रूपमा प्रस्तुत गर्दै उनले भनेका छन्, ‘अहिले पार्टी पराजित भएको हो, समाप्त भएको होइन; हामीले एउटा लडाइँ हारेका हौँ, समग्र युद्ध होइन।’







































